सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।
मंगलबार एमालेले विज्ञप्ति जारी गरी पार्टी उपाध्यक्ष तथा तथा पूर्वसभामुख नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने जनाएको हो । नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।
नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ । बुधबार दिउँसो १ बजेसम्म नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय च्यासलमा राखिनेछ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
एमालेले उपाध्यक्ष नेम्वाङको निधनको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ । सचिवालयको आकस्मिक बैठकले शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: