नेम्वाङको अप्रत्यासित निधनले शीर्ष नेतृत्व स्तब्ध, कसले के भने ?

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनभएको छ । उनको निधनमा राजनीतिक दल, राष्ट्रपति ,सभामुख, पूर्वराष्ट्रपति लगायत शीर्ष नेतृत्वले स्तब्ध बनेका प्रतिक्रिया दिएका छन् ।
राती १ बजे बालुवाटारस्थित निजी निवासको शौचालयमा बेहोस भेटिएका नेम्वाङलाई राति नै शिक्षण अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । उनको हृदयाघातका कारण निधन भएको बताइएको छ ।
नेम्वाङको निधनको खबर फैलिएसँगै शीर्ष नेताहरू शिक्षण अस्पताल पुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली मध्यराति नै शिक्षण अस्पताल पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पताल पुगेका छन् ।
कसले के भने ?
राष्ट्रपति रामचन्द्र पौडेलले
राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएकी छन् ।
उनले विज्ञप्तिमार्फत भनेकी छन्, ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा ९एमाले०का उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु ।’ नेम्वाङको निधनले सिङ्गो एमाले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको भण्डारीले बताएकी छन् ।
देवराज घिमिरे ,सभामुख सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेम्वाङको मंगलवार बिहान निधन भएको छ ।
‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ नेम्वाङले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’
शेरबहादुर देउवा कांग्रेस सभापति
यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
माधवकुमार नेपाल, अध्यक्ष नेकपा एस
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेम्वाङको निधनमा अन्य नेता तथा कार्यकर्ताहरूले पनि गहिरो दुस्ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल नेम्वाङप्रति श्रद्धाञ्जलीका शब्दहरूले भरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: