Swornakshar Logo

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष पक्राउ,ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कास्की पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकका अनुसार कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिए। सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन्।
उक्त सहकारीका आठ जना सहकारीका पदाधिकारीविरूद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले बताए। उनीहरूले एक अर्ब आठ करोड बढी रकम हिनामिना गरेको आरोप छ।

साउन ३२ गते उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो। पीडितहरूले सहकारी ऐन शीर्षकमा जाहेरी दिएका हुन्।