Swornakshar Logo

राजनीतिमा हावाहुरीबाट आएकाहरूको बोलवाला बढेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट आएका र गाली गरीरहेका पार्टीहरुको बोलवाला बढेको छ ।

चार दल सम्मिलित समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले ्राजनीतिमा हावाहुरीबाट आएकाहरुको बाहुल्यता भएको बताएका हुन् ।

‘म त हेर्नै सक्दिन । चित्रहरू हेर्नै नसकिने खालका छन् । त्यस्तैहरू आएका छन् । निरङ्कुशताका दलालहरू हुन् ती । लोकतान्त्रिक दलका नेतालाई खुकुरी हान्ने ? अब मोर्चाले इँटको जवाफ पत्थरले दिने हो,’ उनले भने, ‘लाखौं जनतालाई सडकमा ल्याएर हामी जिउँदै छौँ भन्ने बनाउनुपर्‍यो । म राजनीतिक लडाइँमा छु । हतियारविहीन युद्धमा छु तपाईँहरूले साथ दिनु पर्‍यो ।’

उनले आफूले केही नयाँ गर्न खोजेको बताएका छन् । लाइसेन्स, नागरिकता, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध गर्ने, देशका अनौपचारिक क्षेत्रका श्रमिक लक्षित कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले यो समाजवादको भ्रूण भएको दाबी गरे । मिटर ब्याज अन्त्य गर्न कानुन बनाएको, नागरिकताविहीनलाई नागरिकता बाँडिएको, भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी अन्त्यको लागि लागेको उनले बताए ।

समाजवादी मोर्चाको कार्यक्रमले आफूलाई उत्साह थपेको बताउँदै प्रचण्डले सयौँ वर्षदेखि थुप्रिएको फोहोर फाल्न एकै पटकमा जादु जस्तो भने नहुने बताए । यद्यपि हेल्लो सरकारमार्फत जनताको गुनासो सम्बोधनको प्रयास गरिएको समेत उनले बताए । प्रचण्डले ठुला र दीर्घकालीन महत्त्व राख्ने आयोजना निर्माणमा पनि सरकार लागेको उनको भनाइ छ ।

कोशी प्रदेशको नामकरण पछि उत्पन्न समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको बताउँदै समझदारी र वार्ताबाटै समाधान निकाल्नु पर्नेमा उनले जोड दिए । ‘सामन्तवादको विरुद्ध झन्डा उठाउने झापाबाटै इतिहासबाट मिल्काइएका राजा महाराजा आएर बोल्न कसरी साहस गरे ? कोशी प्रदेश तिरै जातीय हिसाबले भड्काउने कोसिस भइरहेको जस्तो देखिएको छ । त्यो कसरी हुँदैछ ? उनले भने । सरकारको हैसियतले ठुलो मेहनत गरेर धरानको जातीय, धार्मिक हिंसा भड्काउन खोज्नेलाई परास्त गरेको प्रचण्डले बताए ।

समाजवादी मोर्चा भनेकै पार्टी एकताको आधार बनाउनलाई बनाइएको उनले बताए । विप्लवले नेतृत्व गरेको नेकपा पनि मोर्चामा सहभागी हुनुको ठुलो महत्त्व रहेको प्रचण्डको दाबी थियो ।