Swornakshar Logo

विवादित शर्मा पहिलो पटक पक्राउबाट बच्न जापान भागेका थिए, अहिले पक्राउ परे

काठमाडौं । कांग्रेस सांसद सुनिल शर्मा पहिला नै नेपाल प्रहरीको निगरानीमा रहेका पाइएको छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक पेसा सम्हालेको आरोप २०७३ सालमै उजुरी परेको भेटिएको छ।

त्यतिबेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गर्नेहरूविरुद्ध अपरेसन पनि चलाएको थियो । तत्कालीन सीआईबी प्रमुख नवराज सिलवालको नेतृत्वमा चलेको अपरेसनको नाम ‘अपरेसन क्वाक’ राखिएको थियो । त्यतिबेला धेरै व्यक्ति उक्त अभियोगमा पक्राउ परेका थिए ।

त्यही बेला नै सीआईबीको टोलीले शर्माको शैक्षिक प्रमाणपत्रको विषयमा अध्ययन गरेको थियो। प्रमाणपत्र नक्कली भएको भन्दै सीईआबीले शर्मालाई त्यतिबेला नै पक्राउको प्रयास गरेको थियो । सिलवालको टोलीले पक्राउको प्रयास गरिरहेको सुइँको पाउनेबित्तिकै शर्मा जापान उडेको बताइन्छ ।

२०७३ चैतमा सिलवाल, जयबहादुर चन्द र उपेन्द्रकान्त अर्यालबीच आईजीपीका लागि दौड चल्यो । सिलवाल आफैँ किर्ते अभियोगमा फसे अनि जागिरबाट निस्कनुपर्ने अवस्थामा पुगे । प्रहरीको घरझगडा शर्माका लागि बच्ने मौका भइदियो र उनी नेपाल फर्किए ।

शर्माले भदौ २०७८ मा काठमाडौं मेडिकल कलेज (केएमसी) को ४७ प्रतिशत शेयर १ अर्ब ७० करोड रुपैयाँमा किनेका छन् । उक्त कलेज सञ्चालनको जिम्मा श्रीमतीलाई दिएका छन् । अनि केमएसी खरिद गरेको अर्को वर्ष नेपालगञ्ज मेडिकल कलेज पनि खरिद गरेका थिए । उक्त कलेजको ४४ प्रतिशत शेयर ९० करोडमा खरिद गरेको बताइएको छ ।

शर्मामाथि नोबेलको विवाद २०७६ मा फेरि सार्वजनिक भएको थियो । बलजफ्ती रूपमा मेडिकल कलेज कब्जा गरेको आरोप लागेका शर्मामाथि अकुत सम्पत्तिमा २०७६ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो । त्यसैका आधारमा १ मंसिर २०७६ मा विभागले नोबेल मेडिकल कलेजमा छापासमेत मारेको थियो। विभागले अहिलेसम्म उक्त मुद्दाको टुंगो भने लगाएको छैन ।

२०७४ मा कांग्रेसबाट मोरङ ३ को उम्मेदवार भएका शर्मालाई एमालेका भानुभक्त ढकालले पराजित गरेका थिए । यो पटक ढकाललाई हराएर शर्मा सांसद बनेका हुन् । राजनीतिक फाइदाको व्यापार चलाउने शर्मा कांग्रेसभित्र शेखर कोइरालानिकट मानिन्छन् । अहिले स्वास्थ्यमन्त्रीको दाबीमा पनि थिए । तर, मोरङकै अर्का नेता डिगबहादुर लिम्बू खेलकुदमन्त्री बनेपछि उनले मौका पाएनन् ।

पछिल्लो समय शर्मा एक क्वीन्टल सुन तस्करी प्रकरणमा उनले गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना संभव नभएको भनिरहेका थिए ।