सुन तस्करी प्रकरण : भन्सारका कर्मचारी र एजेन्टसहित थप ६ जना पक्राउ

काठमाडौं । आज एक क्वीन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप ६ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्ट हुन् ।
विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्स रे प्राविधिक सरोज श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै भन्सार एजेन्टहरु सिन्धुपाल्चोकका यादव पराजुली, चितवन मेघौलीका सुदर्शन गौतम र झापा गौरादहकी रुक्मिला सुब्बा पक्राउ परेका हुन् । विभागले थप ६ जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
विभागले अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ ।
गत बुधबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत कार्गे गरेर ल्याइएको मोटरसाइल ब्रेक सुमा सुन फेला पारेको थियो । भन्सार पास भएर बाहिरिएपछि विमानस्थल बाहिरबाट ट्याक्सीबाट सो सुन बरामद भएको थियो । सो सुनको परिमाण आइसकेको छैन । राष्ट्र बैंकले जोखेको छ । ब्रेकसुसहित १५५ केजी तौल देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्: