Swornakshar Logo

प्रहरीले सरकारी वकिल कार्यालय बुझायो नक्कली शरणार्थी प्रकरणको प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेकाहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रहरीले भुटानी शरणार्थी प्रकरणलाई संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो । सोही अनुसन्धान प्रतिवेदन प्रहरीले ५७ दिनमा सकेर काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय बुझाएको हो ।

प्रहरीले पक्राउ गरेका पूर्व उपप्रधानमन्त्री , पूर्व गृहमन्त्रीलगायत हाइप्रोफाइल १६ जना र फरार सूचीमा रहेका थप १६ जनामाथि चारवटा मुद्दा लगाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको हो । प्रहरीले राष्ट्रहित प्रतिकूल काम गरेको, कीर्ते, ठगी र संगठित अपराध कुसरमा कारबाही गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

प्रहरीले पक्राउ गरेका १६ जना र फरार १६ जना माथिनै चारवटै मुद्दा आकर्षित हुनेगरी अनुसन्धान प्रतिवेदन पेस गरेको छ । सुरुमा प्रहरीले केही हाईप्रोफाइल र केही बिचौलियालाई योजनाकार र केहीलाई मतियार बनाएर अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको थियो ।

तर, अन्तिम समयमा प्रहरीले सबैलाई समान मुद्दा दायर गर्नुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो । चार मुद्दासहित प्रहरीले करिब २८ करोड रुपैयाँ बिगो भराउनुपर्ने रायसमेत पेस गरेको छ । संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरेको प्रतिवेदन ६० दिनभित्र सरकारी वकिल कार्यालयमा बुझाएर जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । अब प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदनलाई वकिल कार्यालयले दुई दिनभित्र अदालतमा मुद्दा दायर गर्नुपर्नेछ ।

सोही समयसीमाका कारण आइतबार प्रहरीले अनुसन्धान प्रतिदेन बुझाउने प्रयास गरेको थियो । हाईप्रोफाइल जोडिएको मुद्दा भएका कारण प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवर तथा उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीसहितको टोली बिहानदेखिनै काठमाडौं प्रहरी परिसर पुगेका थिए ।

गम्भीर प्रकृतिको घटनाका कारण प्रहरी सुरुदेखिनै संवेदनशील भएर अनुसन्धानमा खटिएको थियो ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति फरार रहेका प्रहरीले जनाएको छ ।