Swornakshar Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : म्याद थपका लागि अभियुक्तलाई अदालत लगियो

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न अभियुक्तलाई प्रहरीले म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा लगेको छ।

पक्राउ परेका १६ जनालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो।जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधीवक्ता लक्ष्मण उपाध्यायका अनुसार प्रहरीले पाँच दिनको म्याद थप गर्न सिफारिस गरेको छ । प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ।

पीडितको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो। प्रकरणमा प्रहरीले पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो। वैशाख १९ गते इन्द्रजित राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उहाँका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो।

त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो। फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ।