Swornakshar Logo

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी पक्राउ, काठमाडौं हुँदै जहाजबाट धनगढी पुर्‍याउने तयारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन् । कैलाली २ बाट प्रतिनिधिसभामा निर्वाचित चौधरी ट्याक्टरमा आगो लगाएको मुद्दामा जिल्ला अदालत कैलालीले दोषी ठहर गरेर ६ महिनाको जेल सजाय सुनाइएका व्यक्ति हुन् । तर, उनी सो कैद सजाय भुक्तान नगरी फरार रहेका थिए । प्रहरीले उनलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

कैलालीको गोराङ्गामा ट्याक्टरमा ३ भदौ २०६६ मा आगो लगाइएको थियो । सोही आगजनी मुद्दामा चौधरी दोषी ठहर भएका थिए । उनलाई पक्राउपछि जिल्ला अदालत कैलालीमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।

बाँकेमा पक्राउ परेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरीलाई काठमाडौँ ल्याईएका थिए ।

बिहीबार बाँकेमा पक्राउ परेका चौधरीलाई सुरक्षा संवेदनशीलताका कारण काठमाडौँ लगेर त्यहाँबाट कैलालीको धनगढी ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सडक मार्गबाट चौधरीलाई कैलाली ल्याउँदा सुरक्षा चुनौती हुन सक्ने भन्दै प्रहरी अधिकारीहरु छलफलमा छन्।

प्रहरीको नियन्त्रणमा रहेका सांसद चौधरीलाई बाँकेबाट हवाइ मार्ग भएर काठमाडौं ल्याइएका थिए । यहाँबाट हवाइ मार्गबाटै धनगढी उलगिएका छन् ।

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला बहादुर रावलले बाँकेबाट पक्राउ परेका सांसदलाई कैलाली ल्याउने रुट आफूलाई यकिन जानकारी नभएको बताए।

कैलाली २ बाट निर्वाचित सांसद चौधरीलाई १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो।

अदालतको उक्त फैसलाअनुसार कैद सजाय भुक्तान नगरेका चौधरी मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

प्रतिनिधिसभा चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले २०७० वैशाख ९ गते जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई भराउने फैसला गरेको थियो।

साविकको बलिया गाविस ५ का महादेव बजगाईँले २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको निजी ट्याक्टर जलाएको आरोपसहित २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा मुद्दा हालेका थिए।

उक्त मुद्दामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनैजनालाई जनही ६ महिना कैद र बिगो असुल्न गर्न आदेश दिएको थियो।

उक्त घटनामा प्रहरीले केही दिन अगाडि मात्रै वीरबहादुरलाई पक्राउ गरिसकेको छ। फरार सूचीमा रहेका सांसद चौधरीलाई पनि प्रहरीले खोजी गरिरहेको थियो।