Swornakshar Logo

प्रचण्डले माओवादी बैठकमा भने– सरकार तलमाथि हुँदैन, रास्वपा बाहिरिने अवस्था छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने तर रास्वपा बाहिरिन सक्ने अवस्था आउनसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाका बीच प्रचण्डले सरकार केही नहुने र आफूले बुझेसम्म सो दलले समर्थन फिर्ता लिने नलिने केहि निर्णय नगरेको बताएका छन् ।

तर पार्टी बैठकमा भने प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने परिस्थिति बनेको ब्रिफिङ गरेको एक नेताले बताए । सोही ब्रिफिङ गरेर प्रचण्डले शुक्रबारसम्मका लागि बैठक स्थगित गराएका थिए । यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव विजय पौडेलले पेरिसडाँडामा प्रचण्डलाई भेटेका छन् । सो क्रममा रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको परिस्थितिमा एकीकृत समाजवादीको भूमिका विषयमा छलफल भएको स्रोतले बताएको छ । सो क्रममा पौडेलले रास्वपाले जे गरेपनि सरकारलाई एकीकृत समाजवादीको समर्थन रहने विश्वास प्रचण्डलाई दिलाएको बताइएको छ ।

प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका हुन् ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारबाटै बाहिरिने स्थिति छ’, प्रचण्डको बैठकमा भनाइ उदृत गर्दै एक नेताले भने । आज धेरै छलफल गर्न सक्ने अवस्था नरहेकाले बैठक लामो नगर्न प्रचण्डले भनेपछि केहीबेर बसेर भोलिका लागि अर्को बैठक तय गरिएको एक नेताले जानकारी दिए । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।

गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन् ।