Swornakshar Logo

गृह मन्त्रालय नपाएपनि रास्वपा हतारमा सरकारबाट नबाहिरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई गृह मन्त्रालय नदिने अडान दोहराएपछि पनि रास्वपा सरकारबाट नबारिने भएको छ । मंगलबार बिहान रविले प्रचण्ड भेटेर गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने बताएको थियो ।
साँझसम्म निर्णय नगरे सरकारमा नरहने सन्देश छोडेर रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री प्रचण्डसँग हात मिलाएर बालुवाटारबाट निस्किए ।

सभापति लामिछानेको सचिवालयले भनेको थियो, ‘प्रधानमन्त्रीसँगको छलफल सकारात्मक देखिएन । साँझसम्ममा गृह दिने निर्णय नगरे बाहिरिने सम्भावना छ ।’

रविलाई मात्र होइन, तत्काल रास्वपालाई गृह मन्त्रालय नदिने अडानमा रहे, प्रधानमन्त्री प्रचण्ड । तर, रास्वपालाई गृहबाहेक अर्को मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड सकारात्मक बने । रास्वपाले सरकारबाट बाहिरिने सूचना चुहाउनुको कारण भने प्रधानमन्त्री प्रचण्डलाई दवाद बढाउनु पनि थियो ।

तर, लगत्तै माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन नसक्ने ब्रिफिङ गरे । अदालतबाट पूर्ण पाठ नआएसम्म र रास्वपालाई स्वार्थ बाझिने मन्त्रालय दिन नहुने निष्कर्ष माओवादीको पदाधिकारी बैठकले निकाल्यो ।

‘पूर्ण पाठ कुर्नुपर्ने आवश्यकता छ भन्ने सुझाव आएको छ । हामी सल्लाह गर्दैछौँ,’ बैठकपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन नटुटोस् भन्ने हो ।’

यसबीचमा सरकार गठन प्रक्रियामा आफ्नो भागमा परेको गृहमा दाबी गरिरहेको रास्वपाले सभापति रविको सट्टा अर्को व्यक्तिलाई पठाउने निर्णयमा पुग्यो । ‘सभापतिलाई पठाउन खोजेको होइन । पार्टीको अर्को सदस्यलाई पठाउने हो,’ रास्वपाका सह–महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने ।

तर, प्रधानमन्त्री प्रचण्ड कुनै पनि हालतमा रास्वपालाई गृह नदिने अडानमा रहे । कारण हो, रविको राहदानी प्रकरण । उनले निष्क्रिय रहेको नागरिकताबाट २०७३ सालमा राहदानी लिएका थिए । बालुवाटार स्रोतका अनुसार रविको राहदानी प्रकरणका कारण रास्वपालाई गृह मन्त्रालय दिन प्रधानमन्त्रीले आनाकानी गरेका हुन् ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय नदिने स्पष्ट सन्देश दिएपछि रास्वपा सभापति लामिछाने सत्ताघटक दल एमालेका अध्यक्ष केपी ओली भेट्न बालकोट पुगे । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले सरकार गठनको समयमा भएको सहमति कार्यान्वयन हुनुपर्ने तर्क राखेका थिए । सरकार गठनका समयमा गृह रास्वपाको भागमा परेको थियो ।
यता रास्वपाको अर्को टोली भने एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्न सिंहदरबार पुगेको थियो । यसरी दिनभर सत्तारुढ दलका नेताहरूको भेपछि रास्वपा तत्काल सरकारबाट बाहिरिने निर्णयबाट लचक बन्यो । ‘आन्तरिक छलफलमा छौँ । हतारमा निर्णय नगरौँ भन्ने हो । तर, केही दिनमै एउटा निर्णयमा पुग्छौँ,’ रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले भने ।

प्रधानमन्त्री प्रचण्ड पनि रास्वपा सरकारबाट नबाहिरिने विश्वासमा छन् । ‘रास्वपा सरकारबाट बाहिरिँदैन भन्नेमा प्रधानमन्त्रीको विश्वास छ,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘राजनीतिक विषयमा हतारमा निर्णय गर्नुहुन्न ।’