Swornakshar Logo

बागमती प्रदेशमा कायम भएका यी हुन् ११ वटा मन्त्रालय

हेटौंडा । बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ वटामा कायम गरिएको छ । बागमती प्रदेश सरकारमा मन्त्रालय निर्धारण गर्नका लागि गठित कार्यदलले आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रतिबेदन बुझाएको थियो । आज नै प्रतिवेदन अनुसार ११ वटा मन्त्रालय कायम हुने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले आज घटीमा ९ वटा र बढीमा ११ वटा मन्त्रालय रहने प्रतिवेदन मुख्यमन्त्री समक्ष बुझाएका थिए । यो प्रतिवेदनपछी अब यस प्रदेशमा ११ वटा मन्त्रालय कायम गरेर छिट्टैनै मन्त्रिपरिषद् विस्तार गरिएको मुख्यमन्त्री जम्मकट्टेलले बताए।

प्रमुख सचिव निरौलको संयोजकत्वमा जम्मकट्टेलले पुस २६ गते पाँच सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। त्यही निर्देशन अनुसार आज कार्यदलले प्रतिवेदन बुझाएको हो ।

समितिले मुख्यमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रमरोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय कायम भएका छन् ।

पहिले मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम गरिने प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताएका छन्। पहिले राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ८ वटा मन्त्रालयलाई बढाएर १४ वटा मन्त्रालय बनाएर भागवण्डा मिलाएका थिए । अब आजबाट भने मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम सुरु गरिने जम्मकट्टेलले बताए ।

आज बेलुका पाँच बजे बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउने निर्णय गरिने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

सुरुमा ७ मन्त्रालय रहेको बागमती प्रदेशमा ८ वटा बनाइयो त्यसपछी मन्त्रालय संख्या बढाएर १४ पु¥याएपछि झ्यालझ्यामा मन्त्रालय बनाइएको भन्दै सबैभन्दा बढी आलोचना भएको थियो । २०७८ कात्तिक ११ गते नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेपछि गठबन्धनमा भागबण्डा मिलाउनकै लागि मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पु¥याइएको थियो ।

११० सदस्यीय प्रदेश सभा सदस्य रहेको बागमतीमा यसपटक माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएसँगै ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापा बिना विभागीय मन्त्री छन् ।

मन्त्रिपरिषद् विस्तार नहुँदा दुइ साता देखि बागमती प्रदेशमा १३ वटा मन्त्रालयको जिम्मेवारी एक्लै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सम्हाल्दै आएका छन्।
पुस २५ गते मुख्यमन्त्रीको जिम्मेवारी समालेपछी पुस २६ गते दुइ जना मन्त्री र जम्मकट्टेलले सपथग्रहण गरेका थिए। प्रदेशका हरेक मन्त्रालयमा दुइ साता देखि मुख्यमन्त्रीको बोर्ड झुण्डीएको छ ।

दुइ जना मन्त्री नियुक्त भएपनि एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मात्र मन्त्रालय तोकेर जिम्मेवारी पाएका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीको जिम्मेवारी लिनु भएका उद्धब थापाले अहिले सम्म बिना बिभागिय मन्त्रीनै छन्।