Bagmati Samachar Logo

जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाइँदैन, ख्याल होस् : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद विघटन गर्न पाइन्छ भनेर सत्ता गठबन्धनकै प्रमुख दलका नेता गर्जेको देखेर आफूलाई अचम्म लागेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतमाथिको प्रस्तावको छलफलमा सहभागी हुँदै नेकपा एसका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका हुन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले कसैको लहडको भरमा प्रतिनिधिसभा विघटन गर्न नपाइने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनले संसद विघटन गर्न पाइन्छ भनेको सुनेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘यो मान्यता यो गठबन्धनको हो रु यदि यो हो भने खतरनाक संकेत दिन्छ ।’

ओलीले बेलायत, भारत, जापानका पनि संसद विघटन हुने गरेको र ०५९ सालमा शेरबहादुर देउवाले पनि संसद विघटन गरेको उल्लेख गरेका थिए । त्यसमा अध्यक्ष नेपालले प्रश्न गरे, ‘के यो ब्रिनेट हो रु के यो भारत हो ? के यो पुरानो नेपाल हो ? के यो २०५१ सालको सरकार हो ? के यो ०५८ सालको शेरबहादुर देउवाको समयको सरकार हो ? होइन ।’

०७२ को संविधान बनाउने क्रममा विगतको अनुभवका आधारमा शासकीय प्रणालीमा धेरै सुधार गरेको र विगतका त्रुटिहरु नदोहोर्‍याउने प्रतिवद्धता गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैन, ख्याल होस् । त्यो काम गरेर प्रतिगमनको कदम चालिएको हो, त्यो फेरि नहोस् ।’

गटबन्धनले विगतको गल्तीबाट शिक्षा लिएको होला, आत्मालोचना पनि गरिसकेको होला भन्ने लागेको, तर संसदमा गर्जिएको देख्दा अचम्म लागेको उनले सुनाए ।

प्रधानमन्त्रीलाई अफूखुसी संसद विघटन गर्ने अधिकार संविधानले नदिएको र सर्वोच्च अदालतले पनि व्याख्या गरिसकेको भन्दै अध्यक्ष नेपालले त्यस्तो गोलचक्करमा नफस्न आग्रह समेत गरे ।