Bagmati Samachar Logo

छिमेकीहरू अझै पनि सरकार फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन् : केपी ओली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीहरू अहिलेपनि सकिन्छ कि भनेर सरकार फेरफार गर्ने खेलमा लागेको बताए ।

शनिबार एमालेका सांसदहरूलाई प्रशिक्षण दिदै ओलीले उक्त कुरा बताएका हुन् । ओलीले सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो दिएको र अझै पनि सरकार परिवर्तन गर्न सकिन्छ कि भनेर लागिरहेको बताएका हुन् ।

हामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनायौं । नेपाली जनता खुसी छन् । तर, हाम्री छिमेकीहरू ढोकाबाट होइन, पर्खालमाथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागेका छन्, उनले भने ।

अध्यक्ष ओलीले सरकार फेरफारको खेलमा छिमेकीहरू लागेकोप्रति असन्तुष्टि पनि जनाए । यो नेपालीले बनाएको सरकार हो । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो, उनले भने, अझै पनि केही गर्न सकिन्छ कि भनेर चासो दिने काम भइरहेको छ ।

उनले सरकार गठन हुँदा विभिन्न कूटनीतिक मान्यता विपरीतका काम भएको र त्यस्ता कुरालाई राजनीतिक दलहरूले प्रतिरोध गरेको बताए । अध्यक्ष ओलीले आन्तरिक मामिलामा हात हाल्ने काम नगर्न पनि सुझाव दिए । हामीले हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौँ । जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने काम नगर्नुस्, उनले भने ।

अध्यक्ष ओलीले आफूहरू छिमेकी मुलुकहरूसँग मिलेर काम गर्न तयार रहेको बताए । हामी हाम्रा छिमेकीहरूलाई जो सरकार बन्छ त्योसँग मिलेर काम गर्न आग्रह गर्छौं । हामी सबै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्न चाहन्छौँ, उनले भने ।