बागमती प्रदेश संसदीय दलको नेतामा माओवादीका पाँच नेताको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेतामा पाँच जनाको दाबी छ । प्रदेश सभा संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, सरल सहयात्री पौडेल, युवराज दुलाल, गंगानारायण श्रेष्ठ र राधिका तामाङले दाबी गरेका हुन् ।
संसदीय दलको नेतामा पाँच जनाले दाबी गरेको भए पनि माओवादी केन्द्रका नेताहरूले भने जम्मकट्टेल र पौडेललाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरेका छन् । जम्मकट्टेल यसअघि संसदीय दलको नेता थिए । उनी प्रदेशको मन्त्री भइसकेका छन् । पौडेल भने पार्टीको प्रदेश अध्यक्ष हुन् ।
यी दुवै नेताले संसदीय दलको नेता हुन लबिङ गरिरहँदा अन्य तीन नेताले पनि दाबी गर्न थालेका हुन् । त्यसैमध्येका दुलाल भने यसअघि प्रदेशको मन्त्री बनेका थिए ।
सांसद तामाङले पनि संसदीय दलमा आफ्नो दाबी रहेको बताइन् ।
त्यस्तै माओवादी केन्द्रको संसदीय दलको नेतामा दाबी गरेका श्रेष्ठ भने माओवादी केन्द्रका नभएर डा.बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेता हुन् । तर, नेसपाले यसपटक माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको थियो । सोही कारण श्रेष्ठले संसदीय दलमा दाबी गरेका हुन् । उनले संसदीय दलको नेतामा आफ्नो दाबी रेहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: