Bagmati Samachar Logo

करिब एक बर्षपछि ओली प्रचण्डको राजनीतिक भेटवार्ता

काठमाडौं । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भनिन्छ । जुन कुरा नेपालको राजनीतिमा पटक(पटक सही साबित हुँदै आएको छ ।

२०७७ साल ४ पुसमा नेकपाका अध्यक्षको हैसियतमा ललितपुरस्थित खुमलटारमा पुष्पकमल दाहाल ुप्रचण्डुको निवासमा भेटवार्ता भएको थियो । तर, त्यो भेटवार्ता दुवै नेताको लागि सुखद रहेन ।

ओली आफूविरुद्धको आरोपपत्र फिर्ता लिन आग्रह गर्दै खुमलटार पुगेका थिए । तर, प्रचण्डले उनको प्रस्ताव स्वीकार गरेनन् । त्यहाँबाट फर्केका ओली ललितपुरस्थित मन्त्री निवास छिरेर तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गरे । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरे ।

त्यसपछि ओली प्रचण्ड आमुन्ने सामुन्ने नै भए । विघटनपछि नेकपा राजनीतिक रूपमा विभाजित भयो । त्यसयता दुई नेताबीच टेलिफोन र त्रिपक्षीय बैठकमा भेट भए पनि एमाले र माओवादी अध्यक्षका रूपमा औपचारिक तथा विस्तृत छलफल गत वर्ष फागुन १२ गते भयो ।

अमेरिकी सहायता परियोजना एमसीसी रोकौँ भन्दै प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न गएका थिए । उक्त भेट पनि सकारात्मक रहेन । १५ फागुनमा एमसीसी पास भयो । त्यसपछि फेरि यी दुबै अध्यक्षबीच भेटवार्ता भएन ।

मंसिरमा चुनावी परिणाम आएपछि ओलीले प्रचण्डलाई जितको बधाइ दिँदै फोन वार्ता गरे । दुबै नेताबीच सामान्य कुराकानी भए पनि त्यति गहिरो गरेर राजनीति कुराकानी नभएको बतइएको थियो ।

पुस ६ गते राष्ट्रपति कार्यलयमा जेष्ठ सांसद पशुपति राणाको शपथग्रहण कार्यक्रमा भेट भएको थियो । दुई अध्यक्षबीच सामान्य कुराकानी भएको थियो । त्यसको दोस्रो दिन पनि सांसदहरूको शपथग्रहण कार्यक्रममा पनि दुई अध्यक्षबीच सामान्य छलफल भएको बताइन्छ ।

बाहिरी रूपमा नदेखिए पनि आन्तरिक रूपमा दुबै कम्युनिष्टका दोस्रो तहका नेताहरू निरन्तर भेटवार्तामा थिए । सत्ता गठबन्धन जति बेला पनि टुट्न सक्ने भन्दै प्रचण्डले माओवादीका नेताहरू र एमालेका नेताहरूको भेटवार्ता, छलफल गराइरहेका थिए ।

आइतबार बिहान खुमलटारमा माओवादीका केही पदाधिकारी राखेर कांग्रेसले माओवादीलाई प्रधानमन्त्री दिए ठीक छ नदिए प्रतिपक्षमा बस्ने भन्दै ब्रिफिङ गरेका थिए ।

प्रचण्डले सहमतिअनुसार पहिला आफूले प्रधानमन्त्री पाउनुपर्ने अडान दोहोर्‍याएपछि देउवाले आफूले प्रधानमन्त्री र राष्ट्रपति अरु दललाई दिन नसक्ने अडान दोहोर्‍याएका थिए । त्यसपछि प्रचण्ड उठेर हिँडेका बैठकमा सहभागी एक नेताले बताएका छन् ।

माओवादीले पहिला भएको भद्र सहमतिअनुसार पहिलो पटक सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान राखेको छ । बिहान खुमलटारमा माओवादीका केही नेतासहित भएको छलफलमा प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

नभन्दै सत्ता गठबन्धनको बैठकमा कांग्रेस माओवादीलाई प्रधानमन्त्री दिन तयार भएन । यति सम्म कि राष्ट्रपति पनि आफैँले राख्छु भन्यो । त्यसपछि प्रचण्डले भएको सहमति कार्यन्वयन नभएपछि गठबन्धन सकियो भन्दै बैठकबाट बाहिरिएका थिए ।

बालुवाटार बैठकबाट बाहिरिएका प्रचण्ड पहिलादेखि माओवादी कार्यलय पेरिसडाँडामा छलफल र सरकार निमार्णको तयारीमा रहेका एमाले माओवादी नेताहरूलाई भेट्न पुगे । त्यसपछि उनी ओली भेट्न बालकोट पुगेका छन् ।