ओलीले मिलेर सरकार बनाउने प्रस्ताव गर्नु भयो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर जाने प्रस्ताव राखेको बताएका छन् ।
बिहीबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा ओलीबाट सहकार्य बारे आएको प्रस्तावबारे प्रचण्डले ब्रिफिङ गरेका हुन्।
तर उक्त प्रस्ताव स्वीकार गर्नेबारे केही नसोचेको प्रचण्डले जवाफ दिएको पदाधिकारी बैठकमा बताएका एक पदाधिकारीले जानकारी दिए ।
हिजोमात्र ओलीजीसँग शीतल निवासमा ज्येष्ठ संसदलाई शपथ दिने कार्यक्रममा भेट भएको थियो, तपाईंहरुले तस्बिर पनि हेर्नुभयो नि , पदाधिकारी बैठकमा प्रचण्डको भनाइ उदृत गर्दै एक पदाधिकारीले भने, ‘उहाँको अलिक बढी जोड यता मिलाउनुपर्छ, मिलेर जाने प्रस्ताव राख्नु भएको थियो। तर मैले हामीले अहिले तत्काल त्यतातिर सोचेका छैनौँ भने।’
फेरि ओलीले तपाईं हामी मिलेर जाँदा उपयुक्त हुन्छ भनेको प्रचण्डले ब्रिफिङमा भने।
तपाईं हामी मिल्दा नै उपयुक्त हुन्छ,ओलीको भनाइ उद्धृत गर्दै प्रचण्डले बैठकमा भने, ‘कुरा ठिकै हो, तर हाम्रो यसबारे पार्टीभित्र छलफल भएको छैन, यतातिर सोचिएको पनि छैन।’
माओवादी पदाधिकारी बैठकले अहिलेलाई गठबन्धनभित्रबाटै सरकार बन्ने निष्कर्ष पनि निकालेको छ।

प्रतिक्रिया दिनुहोस्: