Swornakshar Logo

प्रचण्डसँग नजिक हुँदै प्रभु साह

काठमाडौं । रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार भई जितेका प्रभु साह अहिले राजनीतिक भेटघाटमा व्यस्त छन् । साहले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्मासँग भेटघाट गरेका छन् ।

साहले एमालेबाट पाएको टिकट फिर्ता गरेर रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले सत्ता गठबन्धनको सहयोगमा चुनाव जितेका हुन् । उनी ३२ हजार ४३७ मत ल्याएर विजयी भए ।

सत्ता गठबन्धनको सङ्घमा सरकार बनाउन पुग्ने बहुमत आएको छैन । दुई सिट कम परेको सत्ता गठबन्धन साहलाई आफूतिर तान्न चाहन्छ । साह नेकपा विभाजन भएपछि एमालेमा बसेका थिए । जब कि साहको राजनीतिक पृष्ठभूमि माओवादी हो ।

एमालेमा असन्तुष्ट बनेपछि साहले पाएको टिकट पनि खल्तीमा नै राखेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनले जितेपछि नयाँ पार्टी खोल्ने पनि हल्ला चलेको थियो । तर, उनी पुनः माओवादीमा नै फर्कने तयारीमा रहेको बताइन्छ । जसका लागि उनी निरन्तर माओवादी केन्द्रका अध्यक्ष र केही पदाधिकारीसँग छलफलमा रहेको उनीनिकट नेताहरू बताउँछन् ।

एमालेमा गएका साह किन विरक्तिए

माओवादीभित्रका गुटबन्दीमा साह कमजोर बन्दै गएपछि पार्टी छोड्ने वा छुट्टै पार्टी खोल्ने विकल्पबारेमा आफूनिकटसँग छलफलमा थिए । सर्वोच्च अदालतले नेकपालाई खारेज गरेर एमाले र माओवादी अस्तित्वमा ल्यायो । सधैँ अवसर खोज्ने साहलाई नेकपा विभाजन पनि एक अवसर बनेर आयो ।

उनी नेकपा खारेज भएपछि एमालेमा बसे । माओवादीमा फर्केनन् । एमालेबाटै उनी मन्त्री भए । एमालाई पनि मधेसमा साहजत्तिको मानिस आवश्यक थियो । हक्की स्वभावका साह एमालेमा मधेसका लागि राम्रै नेता भए । एमालेमा केही समय प्रदेश अध्यक्ष भएर प्रदेश सचिव सुमन प्याकुरेलको सहयोगमा उनले एकलौटी रूपमा पार्टी चलाए ।

एमालेको चितवनमा भएको १०औँ महाधिवेशनपछि मधेस प्रदेशमा रघुवीर महासेठ इन्चार्ज भए । महासेठ इन्चार्ज मात्र भएनन्, एमाले सचिव पनि भए । प्रभु साह मधेस प्रदेश कमिटीको अध्यक्षबाट हटाइए र पूर्वमाओवादीकी ज्वाला साहलाई अध्यक्षको जिम्मेवारी दिइयो ।

साह प्रदेश इन्चार्ज भएर पार्टीमा सर्वसम्मत नेता हुने दाउमा थिए । तर, पार्टीको दशौँ महाधिवेशनपछि रघुवीर महासेठ पार्टी सचिव र इन्चार्जसमेत बनाइए । गत मङ्सिरदेखि नै एमालेमा साह बस्ने या नबस्ने बहस सुरु भएको थियो । तर, जेनतेन असोजसम्म एमालेमा बसेका साहले २३ असोजमा एमालेले दिएको प्रतिनिधिसभाको उम्मेदवारको टिकट खल्तीमा राखेर स्वतन्त्र उम्मेदवारी दिए ।

एमाले विभाजन भएपछि अघिल्लो वर्षको असोजमा विधान महाधिवेशन गरेको थियो । २०७८ साल १५ असोजबाट सुरु भएको एमालेको विधान महाधिवेशन पनि उनले बहिष्कार गरेका थिए । विधान महाधिवेशन सुरु हुनुभन्दा केही दिनपहिले बानेश्वरमा आफूनिकटका नेताको भेला बोलाएर आफूसहित केही नेताहरू विधान महाधिवेशनमा सहभागी नहुने निर्णय गरेका थिए ।

एमालेमा नै बसेका साहले रौतहटमा टोपबहादुर रायमाझीलाई लिएर आईटी आर्मी निर्माण गरेका थिए । आईटी आर्मी प्रमुख चन्द्रभूषण साहलाई बनाएका थिए । पूर्वमाओवादी नेता कार्यकर्तालाई एमालेमा यथोचित स्थान नदिइएको भन्दै विधान महाधिवेशनमा सहभागी नभएका उनले आफूनिकटलाई त्यही समयमा बताएका थिए । माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेका साहलाई एमालेमा भने केन्द्रीय सदस्य मात्र बनाइएको थियो ।

मधेस प्रदेशको इन्चार्ज बन्ने सपना देखेका साहलाई केन्द्रीय सदस्यको मात्र जिम्मेवारी दिएपछि झन् उग्र हुँदै आएका थिए । उनले केन्द्रीय कमिटी बैठक र धेरैपटक प्रदेश कमिटी बैठकसमेत बहिष्कार गरेका थिए । एमालेका महासचिव शङ्कर पोखरेलले साहलाई भेटेर फकाउन धेरै प्रयास गरे । तर, साह एमालेसँग खासै नजिक भएनन् ।

माओवादीमा उदय

साह २०५७ सालमा माओवादीमा आएका थिए । माओवादीले उनलाई मधेसी मुक्ति मोर्चामा सङ्गठित गरेर तराईमा खटायो । मधेसका माओवादी नेता मातृका यादव र साहबीच लामो समयसम्म सम्बन्ध कायम रहन सकेन । दुवैबीच टकराव बढ्दै गयो । साह माओवादीभित्रको बाबुराम गुटमा सामेल भए । यादव प्रचण्ड गुटका थिए । मातृकाले शान्ति प्रक्रियामा आएपछि माओवादी छोडे । साह एक्ला पात्र थिए मधेसमा । बाबुराम भट्टराईले माओवादी छोड्दा उनी माओवादीमा नै बसे । उनको सम्बन्ध प्रचण्डसँग घनिष्ठ नै बन्यो । तर, नेकपा विभाजन हुँदा एमालेमा बसे । त्यो एमाले पनि छोडेर फेरि माओवादीमा नै फर्कने योजनामा रहेको बताइन्छ ।

योपटक मधेस प्रदेशमा माओवादी केन्द्रबाट एक जनाले पनि चिर्वाचन जित्न सकेनन् । भट्टराई नेतृत्वको पार्टीका नेता महिन्द्र राय यादवबाहेक । जब कि स्वतन्त्रबाट उम्मेदवारी दिएका साह र उनीनिकट अर्का नेताले चुनाव जितेका छन् ।

उनी फेरि माओवादीमा फर्केर मधेसको नेता बन्ने दाउमा रहेका एक माओवादी नेता बताउँछन् । मधेसमा उनीभन्दा सिनियर नेताहरूले चुनाव हारेपछि साहलाई झन् सहज भएको एक माओवादी नेता बताउँछन् । तीन नेताले भने, ‘प्रभु साहलाई मधेस प्रदेशमा झन् सहज भएको छ । माओवादीमा फर्के पनि उनलाई प्रचण्डले सहज रूपमा ल्याउँछन् । अनि मधेसको नेता हुन्छन् । मधेसबाट सबैले चुनाव हारेका छन् । पहिला माओवादी नै भएकाले उनलाई माओवादीमा फर्कन पनि समस्या छैन ।’

उनी अवसर खोज्ने नेतामा पर्छन् । अहिले पनि दुई क्षेत्रमा जितेका साहले मन्त्री हुने चाहना राखेका छन् । जुन कुरा अहिले संसद्‌मा दुई सिट कम भएको गठबन्धनले सहज रूपमा दिने अनुमान गरिन्छ ।