Bagmati Samachar Logo

सत्तागठबन्धनको यहि गठबन्धनलाई एकताबद्ध बनाएर अगाडि बढ्ने निर्णय

काठमाडौं । सत्ता गठबन्धनको सोमबार बसेको बैठकले एकताबद्ध भएर गठबन्धनलाई अगाडि बढाउने निर्णय गरेको छ ।

सोमबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने बताएका हुन्।

‘‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

उनीहरूले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनाव सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यबादसमेत दिएका छन्। निर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामनासमेत उनीहरूले दिएका हुन्।

निर्वाचनका बेला कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना देखिएको चार दलका शीर्ष नेताको भनाइ छ। ती असमझदारीबारे आगामी दिनमा थप समीक्षा गरिने उनीहरूले उल्लेख गरेका छन्।

मंसिर ४ को चुनावले गठबन्धनको आवश्यकता र सान्दर्भिकता थप पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। ‘मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरूरी छ,’ उनीहरूले भनेका छन्।