Swornakshar Logo

चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन

काठमाडौं । सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

उनी सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं बस्दै आएका उहाँ निर्वाचनमा मतदान गर्न चितवन आएको उनका भाई भुवन विकले बताए । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । माइक्रोको अगाडी सिटमा रहेका उनलाई उद्दार गरि चितवन मेडिकल कलेज (पुरानो)मा पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको चितवनबाट पत्रकार गोपाल विश्वकर्माले बताए ।

उनले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए। उनले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उहाँको कार्यक्रम प्रशारण हुने गर्छ ।

उन पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य थिए ।