Swornakshar Logo

बाजुरामा झडप गर्नेहरु प्रहरीको इन्सास राइफल खोसेर फरार

काठमाडौं । बाजुरा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेबाट झडप सुरु भएको थियो । झडप गर्नेहरूमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता थिए । झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन् । इन्सास राइफल अझै फेला नपरेको प्रहरी प्रवक्ता (एसएसपी) दान बहादुर कार्कीले बताए ।
आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलायो । प्रहरीले बल प्रयोग गर्दा सन्दीप ऐडीको मृत्यु भएको एसएसपी कार्कीले जानकारी दिए ।

बाजुराको त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ मा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको ज्यान गएको छ । मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् । उनी वडा नम्बर–७ का स्थानीय हुन् ।

सन्दीपको घटनास्थलमै मृत्यु भएको हो । झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन् ।
झडपमा त्रिवेणी नगरपालिका–७ बस्ने ३८ वर्षीय स्वयंसेवक पर्शुराम उपाध्याय, नेपाली कांग्रेसका प्रतिनिधि ३६ वर्षीय खड्कबहादुर ऐडी र ४८ वर्षका पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापा घाइते भएका छन् । थापा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष हुन् । त्यस्तै विजयराज उपाध्याय पनि सामान्य घाइते छन् । घाइतेहरूलाई उपचारका लागी सुर्खेतमा पठाइएको छ ।