अख्तियारको कार्यालय हेटौँडामा उजुरीका चाङ
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरीका चाङ लागेका छन् । मधेस प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका दुई जिल्लामा भ्रष्टाचारका गतिविधि बढेकाले उजुरीको संख्या बढेको हो ।
बागमती प्रदेशका मकवानपुर र चितवन तथा मधेस प्रदेशका बारा, पर्सा र रौतहटबाट आर्थिक र नैतिक भ्रष्टाचार बढेको भन्दै परेका उजुरीको चाङ नै लागेको छ । यी जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७८ ७९ मा दोब्बरले उजुरी बढेको छ । रौतहट, चितवन र पर्सा जिल्लाका उजुरी तेब्बरभन्दा बढीले बढेका छन् । यी पाँचवटै जिल्ला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको कार्यक्षेत्रमा पर्छन् ।
अख्तियार कार्यालय हेटौँडाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७र७८ र ०७८र७९ मा सबैभन्दा धेरै ३९१ वटा उजुरी बाराबाट परेका छन् । बाराबाट ०७७र७८ मा १३० वटा मात्रै उजुरी परेका थिए । तर, ०७८र७९ मा बाराबाट २६१ उजुरी परेका छन् । बाराबाट कुल ३९१ वटा उजुरीमध्ये हालसम्म २७१ वटा उजुरी फर्छ्योट भइसकेको अख्तियारले जनाएको छ ।
बारापछि सबैभन्दा धेरै उजुरी रौतहटबाट ३७४ वटा परेका छन् । ०७७र७८ मा रौतहटको उजुरी संख्या ८ मात्रै थियो । तर, ०७८र७९ मा उजुरीको संख्या ह्वात्तै बढेर ३६६ पुग्यो । रौतहतबाट परेका कुल उजुरीमा हालसम्म २८६ वटा फर्छ्योट भएको अख्तियार कार्यालय हेटौँडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले शिलापत्रलाई जानकारी दिए ।
दुई आर्थिक वर्षमा गरेर मकवानपुरबाट परेका उजुरी ३१० वटा छन् । ०७७र७८ मा १०४ वटा मात्रै उजुरी परेकोमा ०७८र७९ मा दोब्बरले वृद्धि भएर उजुरी संख्या २०६ वटा पुगेको हो । यी दुई आर्थिक वर्षका उजुरीमध्ये २२७ वटाको फर्छ्योट भइसकेको सापकोटाले बताए ।
पर्साबाट ०७७र७८ मा ८३ वटा मात्रै उजुरी परेकोमा ०७८र७९ मा २०३ वटा उजुरी परेका थिए । दुई आर्थिक वर्षमा गरेर परेका कुल २८६ वटा उजुरीमध्ये हालसम्म १७९ वटा उजुरी फर्छ्योट भइसकेका छन् ।
चितवनबाट ०७७र७८ मा ३८ वटा मात्रै उजुरी परेका थिए । ०७८र७९ मा चितवनको उजुरीमा १२८ ले वृद्धि भयो ।
सापकोटाका अनुसार अख्तियार कार्यालय हेटौँडाको कार्यक्षेत्रमा पर्ने अन्य जिल्लाहरू दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, रामेछाप, नुवाकोट र रसुवाबाट भने उजुरीको अवस्था सामान्य अनुपातले घटबढको अवस्था छ । दुई आर्थिक वर्षमा गरेर दोलखाको १८, धादिङको १८, काभ्रेबाट १५, रामेछापबाट १२, नुवाकोटको ४, सिन्धुपाल्चोक र रसुवाबाट समान तीन–तीनवटा उजुरी परेका छन् ।
अख्तियार कार्यालय हेटौँडामा आर्थिक वर्ष ०७८र७९ मा सबै जिल्लाहरूबाट गरी कुल १ हजार १ सय ८९ वटा उजुरी दर्ता भएका छन् । सो आर्थिक वर्षमा कुल उजुरीमध्ये करिब ७५ प्रतिशत अर्थात् ८९० वटा उजुरी फर्छ्योट गरिएको सापकोटाले बताए । अख्तियार कार्यालयमा लिखित, फोन वा इमेलमार्फत पनि उजुरी धेरै आउने गरेको उनको भनाइ छ ।
धेरै उजुरी स्थानीय तहका खरिद र निर्माणसँग सम्बन्धित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा अधिकांश उजुरी स्थानीय तहविरुद्ध पर्ने गरेको तथ्यांकले देखाएको छ । स्थानीय तहले सार्वजनिक खरिद नियमावली मिचेको र विकास निर्माणसँग सम्बन्धित उजुरी पर्ने गरेको सूचना अधिकारी सापकोटाले बताए ।
सार्वजनिक खरिद नियमावली मिचेर खरिद गुरुयोजना र वार्षिक खरिद योजना नबनाइएको, गलत प्राविधिक मूल्यांकन गरिएको, बजेट टुक्र्याएर खरिद गरिएको, आवश्यकभन्दा धेरै सामग्रीहरू खरिद गरिएको, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पारिएको, योग्यता नभएका व्यक्तिलाई खरिद कार्यमा सहभागी गराएको सम्बन्धमा उजुरी पर्ने गरेको सापकोटाले बताए ।
विकास निर्माणमा पनि ठेकेदारले प्राविधिकहरूसँग मिलेमतो गरी आफूखुसी संरचना बनाएको, आयोजनामा गुणस्तरहीन काम भएको, कम गुणस्तरका सामग्री प्रयोग गरिएको लगायतका विषयमा उजुरी पर्ने गरेको सापकोटाले बताए ।
उपभोक्ता समितिसँग, नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोत उपयोगका विषयमा पनि धेरै उजुरी पर्ने गरेको कार्यालयले जनाएको छ । गिट्टी बालुवाको ठेक्का प्रक्रियामै अनियमितता गरिएको, कर्मचारीसँगको मिलेमतोमा सम्झौतामा तोकिएभन्दा बढी उत्खनन गरिएको विषयमा उजुरी पर्ने गरेका छन् ।
हेटौँडा उपमहानगरको उजुरी तेब्बरले वृद्धि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी हेटौँडा उपमहानगरपालिकाको छ । हेटौँडा उपमहानगरपालिकाविरुद्ध आर्थिक वर्ष ०७७र७८ मा भन्दा गत आर्थिक वर्ष ०७८र७९ मा झण्डै तेब्बरले उजुरी वृद्धि भएको छ ।
०७७र७८ मा हेटौँडाका उजुरी जम्मा ४५ वटा थिए । तर, ०७८र७९ मा बढेर १२४ वटा उजुरी परेका थिए । दुई आर्थिक वर्षमा गरेर हेटौँडाविरुद्ध परेका कुल १६९ वटा उजुरीमध्ये ११८ वटाको फर्छ्योट भइसकेको कार्यालयले जानकारी दिएको छ ।
हेटौँडापछि सबैभन्दा धेरै उजुरी मनहरी गाउँपालिकाविरुद्ध परेका छन् । मनहरीविरुद्ध ०७७र७८ र ०७८र७९ गरेर ४२ वटा उजुरी परेका छन् । ०७७र७८ मा मनहरीका उजुरी जम्मा १० वटा मात्रै थिए । एक वर्षपछि उजुरीको संख्या ३२ पुगेको छ । मनहरीका कुल उजुरीमध्ये ३६ वटाको फर्छ्योट भएको छ । मनहरीपछि बकैया र मकवानपुरगढी गाउँपालिकाविरुद्ध धेरै उजुरी परेका छन् ।
दुई आर्थिक वर्षमा गरेर बकैयाविरुद्ध २१ वटा र मकवानपुरगढीविरुद्ध २० वटा उजुरी परेको अख्तियार कार्यालय हेटौँडाले जानकारी दिएको छ । बकैयाविरुद्ध ०७७र७८ मा १० वटा र ०७८र७९ मा ११ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये १६ वटा फर्छ्योट भइसकेका छन् । मकवानपुरगढीविरुद्ध ०७७र७८ मा ११ वटा र ०७८ ७९ मा नौवटा उजुरी परेकोमा हालसम्म १४ वटा उजुरीको फर्छयोट भइसकेको जनाइएको छ ।
थाहा नगरपालिकाको ०७७र७८ र ०७८ ८९ असार मसान्तसम्म आठवटा उजुरी दर्ता भएका छन् । जसमध्ये सातवटा उजुरी फर्छ्योट भएका छन् । यसैगरी, इन्द्रसरोवर गाउँपालिकाविरुद्ध चारवटा उजुरी दर्ता भएकोमा सबैको फर्छ्योट भएको सूचना अधिकारी सापकोटाले जानकारी दिए । जिल्लाको विकट कैलाश गाउँपालिकाविरुद्ध १२ वटा उजुरी दर्ता भएकोमा नौवटा फर्छ्योट भएको छ ।
त्यस्तै, बागमती गाउँपालिविरुद्ध छवटा उजुरी दर्ता भएकोमा पाँचवटा फर्छ्योट भएका छन् । भीमफेदी गाउँपालिकाविरुद्ध १२ वटा उजुरी दर्ता भएकोमा आठवटा फर्छ्योट भएका छन् । त्यस्तै, जिल्लाको दुर्गम राक्सिराङ गाउँपालिकाविरुद्ध १६ वटा उजुरी दर्ता भएकोमा १० वटाको फर्छ्योट भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: