हेटौँडा–काठमाडौं चल्ने सुमोको अत्याचारः बेहोस यात्रुलाई बाटोमै छोडेर भाग्यो
हेटौँडा । हेटौँडा–काठमाडौं चल्ने एक टाटासुमोले बेहोस अवस्थामा रहेकी एक महिला यात्रुलाई बीच बाटोमै छोडेर गएको खुलेको छ । हेटौंडाबाट सञ्चालित टाटासुमोले काठमाडौं जाने यात्रुमाथि चरम लापरबाही गरेको पाइएको हो । घटना मंगलबार बिहानको घटेको बताइएको छ ।
पुरानो नारायणी यातायात कम्पनी प्रालि (तत्कालीन नारायणी यातायात व्यवसायी संघ)को टाटासुमोले बेहोस अवस्थामा रहेकी एक महिला यात्रुलाई मकवानपुरको भीमफेदी गाउँपालिकामै छोडेर भागको थियो । टाटासुमोले रामेछाप मन्थली घर भएकी निता तामाङलाई भीमफेदीमा छोडेर हिँडेको हो ।
अन्दाजी १८–२० वर्षकी तामाङ काठमाडौं जान नारायणी यातायातको टाटासुमो चढेकी थिइन् । उनी भीमफेदी पुग्नु अगावै टाटासुमोभित्र बेहोस भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएको छ । यात्रु बेहोस भएपछि सुमोका चालक (नाम खुल्न नसकेको)ले भीमफेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तामाङलाई छोडेर सम्बन्धित निकायमा खबर नै नगरी हिँडेका हुन् ।
इलाका प्रहरी कार्यालय भीमफेदीका इञ्चार्ज प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार सुमो चालकले बेहोस भएकी तामाङलाई स्वास्थ्य केन्द्रमा छोडेर कसैलाई खबर नै नगरी गएको बताइन् । उनले लापरबाही गर्ने चालकमाथि खोजी भइरहेको जानकारी दिइन् । टिकटमा सुमोको नम्बर प्रष्ट उल्लेख नगरिएका कारण चालक पत्ता लगाउन कठिनाई भएको कार्कीले जानकारी दिएकी छन् ।
गन्तव्यमा हिँडेको यात्रु बीचबाटोमै बेहोस भएपछि चालकले प्रहरी वा सम्बन्धित बिरामीको परिवारमा खबर गर्नुपर्ने मानवीयता पनि नदेखाएको पाइएको छ । यात्रु तामाङको होस खुलेपछि स्वास्थ्य केन्द्रले नजिकैको इलाका प्रहरी कार्यालय भीमफेदीलाई जानकारी गराएका थियो । तामाङलाई हेटौँडाको पदमपोखरी रहेका आफन्तले आएर लगेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिइन् । ‘सुमो चालकले बिरामीको बारेमा कुनै जानकारीसमेत नदिएको र यात्रुलाई स्वास्थ्य केन्द्रमा राखिदिएर गैरजिम्मेवार ढंगले हिँडेको पइयो । अहिले बिरामीको आफन्त आएर लगिसक्नु भएको छ,’ कार्कीले भिनन् ।
नारायणी यातायातको काउन्टरले टिकट काट्दा सामान्य मापदण्डसमेत पालना नगरेको पाइएको छ । टिकटमा गाडी नम्बर प्रष्टसँग उल्लेख नभएको, यात्रारत दिनको मितिसमेत नलेखिएको, यात्राको गन्तव्यसमेत प्रष्टसँग खुलाइएको थिएन् । तामाङको टिकट उनको साथीले काटिदिएको कारण टिकटमा नामसमेत उल्लेख नभएको जनाइएको छ । पीडित तामाङसँग सुमोले सात सय रुपैयाँ लिएको खुलेको छ ।
चालकले यात्रुलाई बेहोस अवस्थामा बीचमै छोडेर हिँड्नुको पछाडि काठमाडौंबाट तत्काल हेटौँडा आउने अर्को टिप लगाउनका लागि हतार गर्नु आशंका छ । पैसाका लागि बेहोस बिरामीलाई बीच बाटोमै अलपत्र छोडेर हिँड्ने जस्तो गम्भीर लापरबाहीमा प्रहरीले चासो नदेखाएको पीडित पक्षले आरोप लगाएको छ । प्रहरीले टाटासुमो र त्यसका चालकलाई खोजी गरे पनि हालसम्म भेटाएको छैन । प्रमाण नै नभेटिएको घटनाको अनुसन्धानमा समेत सफल हुँदै आएको प्रहरीले एउटा टाटासुमो खोज्न नसकेको जवाफ पाएपछि पीडितको आफन्त आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्: