पति–पत्नी सहित तीन जना हनिट्रयाप धन्दामा पक्राउ
काठमाडौं । काठमाडौंमा पति–पत्नीसहित तीन जना हनि ट्रयापिङको धन्दामा समातिएका छन् । हनि ट्रयापिङ धन्दा चलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पति–पत्नीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ घर भई बौद्ध बस्ने ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरि खड्का र भक्तपुरको बालकोट बस्ने २८ वर्षीय सञ्जय कार्की छन् । साउन १ मा पक्राउ परेका कल्पना र कृष्णहरि खड्का पति पत्नी हुन् ।
सामाजिक सञ्जालबाट केटीको फोटो प्रयोग गरेर पुरुषलाई खाजा खाने बहानामा रेष्टुरेण्टमा बोलाएर कल्पनाले भेट्ने गर्थिन् । भेटेपछि झूटा मुद्दा लगाएर ‘फसाउँछु’ भनेर तीनैजना मिलेर ब्ल्याकमेल गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
काठमाडौंका २८ वर्षीय सुमन (नाम परिवर्तन) होलसेल व्यवसायी हुन् । पैसा उठाउन उनी हप्तैपिच्छे विभिन्न ठाउँका पसलमा गइराख्छन् । त्यही सिलसिलामा डेढ महिना अघि एक पसलमा उनको ३१ वर्षीया कल्पना बस्नेतसँग भेट भयो ।
सामान्य कुराकानीपछि सुमन र कल्पना सामाजिक सञ्जालमा पनि जोडिए । कुराकानी बाक्लिँदै जाँदा उनीहरुले खाजा खाजा एक होटलमा भेट्ने भए । ‘खाजा खान भेट्ने भएपछि सामान्य सोचेर गएको थिएँ’ सुमनले प्रहरी कहाँ बयान दिएका छन्, ‘खाजा खान थालेको केही समयपछि उहाँले टाउको दुख्यो, रेष्ट गर्नुपर्यो भन्नुभयो ।’
सुमनका अनुसार त्यति भनेर कल्पना रिसेप्सनमा चाबी मागेर होटलको एक कोठामा गइन् । सुमन पानीको बोतल लिएर पछि लागे । ‘पाँच मिनेटमै उहाँ बाहिर निस्किएर हिँड्नुभयो र मलाई जबरजस्ती गरेको आरोप लगाउनुभयो’ उनले भनेका छन् । त्यसपछि कल्पनाका श्रीमान् कृष्णहरि खड्काले पनि उनलाई भेटेर धम्क्याउन थाले । प्रहरी कहाँ जाने भन्दै बारम्बार धम्की दिन थालेपछि उनी आत्तिए, आफ्नो इजजत जाने भन्दै श्रीमान श्रीमतीलाई अनुनय विनय गर्न थाले ।
आफूले केही नगरेको भन्दै उनले कल्पनाका श्रीमान्लाई पनि सम्झाउन खोजे । तर उनी मानेनन् । अन्तिममा ३५ लाख रुपैयाँ दिने भए उजुरी नहाल्ने कल्पनाले बताइन् ।
उनी पैसा खोजी रहेका थिए । त्यहिबीचमा प्रहरी कार्यालयबाट अपराध अनुसन्धानको प्रहरी निरीक्षक ९इन्स्पेक्टर० भन्दै सिन्धुलीका २८ वर्षीय सञ्जय कार्कीको उनलाई फोन आयो ।
तपाईंविरुद्ध बलात्कारको उजुरी परेको छ’ भन्दै प्रहरीको फोन आएपछि उनी आत्तिए । पीडितसँग कुरा मिलाउने भए चाँडै गर्न नभए संवेदनशील घटनाले मुद्दा छिटो चलाउनुपर्ने भन्दै उनले अल्टिमेटम दिन थाले ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले आफू तीन दिनपछि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जान लागेको भन्दै उनले छिटो टुंगाउन ताकेता गरेका थिए ।
त्यसक्रममा प्रहरी निरीक्षक भन्दै फोन गर्ने सञ्जय कार्कीबारे प्रहरीले छानबिन गर्दा उनी प्रहरी नै नभएको खुल्यो । त्यति मात्र होइन, नक्कली पीडित बनेर हनी ट्रयापमा पार्ने कल्पना र उनका पति खड्काको कर्तुतबारे पनि प्रहरी थाहा पायो ।
त्यसपछि प्रहरीले उनीहरुलाई पैसा दिने बहानामा छद्म भेषमा अपरेशन चलाएर कल्पना, नक्कली प्रहरी निरीक्षक कार्की र उनका श्रीमान् खड्कालाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध अपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट म्याद थप गरिएको एसपी कृष्ण कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्: