Swornakshar Logo

न्यायाधीश कोइरालामाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएपछि न्यायपरिषदले ३ सदस्यी छानबिन समिति गठन गरेको छ ।

न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।

समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको न्याय परिषदका प्रवक्ता एवं सहसचिव मानवबहादुर कार्कीले जानकारी दिए ।

न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएपछि त्यस विषयमा छलफल गर्न बुधबार न्याय परिषदको बैठक बसेको थियो । बैठकले न्यायाधीश कोइरालालाई न्याय सम्पादनमा पनि रोक लगाएको छ ।