Bagmati Samachar Logo

नेपालबाटै क्यानेडियन र अमेरिकी नागरिकलाई ठग्ने पक्राउ

काठमाडौं । काठमाडौंमा कल सेन्टर खोलेर ठगीमा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
अनलाईन मार्फत सो ठगीधन्दा चलाएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ । ठगीमा संलग्न भएको अभियोगमा २ भारतीयसहित १३ जनालाई पक्राउ गरेको हो।

भारतीय समूहले खास गरी अमेरिका क्यानाडास्थित प्रौढ र वृद्ध मानिसहरुलाई लक्षित गरी ठगी गरेको खुलेको छ।

उनीहरुले कल सेन्टरका नाममा ती अमेरिकी र क्यानेडियन नागरिकको कम्प्युटरसम्म पहुँच बनाएर ठगी गरेको खुलेको छ। उनीहरुले विन्डोज सपोर्ट दिने भन्दै ठगी गरेको साइबर ब्यूरोले जनाएको छ।

आफैंले अनलाइनमार्फत पहुँच बनाएर कम्प्युटरमा समस्या खडा गरिदिएपछि ती विदेशीहरुले कल सेन्टरको सहयोग माग्ने गरेका थिए।

पटक पटक गुनासो लिएर आउने उनीहरुलाई ठगी गर्ने गरेको उजुरीका आधारमा १३ जना समातिएका हुन्। यसलाई साइबर ब्यूरोले कल सेन्टरमा नाम अनलाइन स्क्यामिङ भनेको छ।

सूचना प्रविधिको दुरुपयोग गरी अमेरिकन तथा क्यानडियन नागरिकलाई लक्षित गरी क्लायन्ट एक्सेस लिएर उनीहरुको डाइरेक्ट्री फाइल लगायतमा पुगेर ुयोर आईपी एड्रेस इज ह्याक्ड एन्ड योवर नेटवर्क इज कम्प्रेस्टु भन्ने जस्ता भ्रामक सन्देश पठाई पीडितहरूबाट बैंक र अन्य व्यक्तिगत विवरण लिने गरेको खुलेको छ।

सबै विवरण लिएर उनीहरुले अनलाइन स्क्यामिङ गरेर ठग्ने गरेका थिए। यो प्रकरणमा संस्थाका मुख्य सञ्चालक विजय श्रेष्ठ, दुई जना भारतीय नागरिक निसान खैरे र मनीष तिवारीसहित कार्यालयमा कार्यरत पाँच पुरुष र पाँच महिला पनि पक्राउ परेका हु्न्।

उनीहरुलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेर काठमाडौं जिल्ला अदालतको आदेशले ७ म्याद थप गरिएको प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले बताएका छन्।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन बस्ने ३३ वर्षीय मुख्य सञ्चालक विजय श्रेष्ठ छन्।

त्यसैगरी ताकीरोड नाला सोपारा थाने, महाराष्ट्र भारत घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय निशान खैरे, ग्राम २५८, अन्जरौली फैजावाद, मुल्कीपुर उत्तर प्रदेश भारत घर भई हाल काठमाडौं सामाखुसी बस्ने २४ वर्षीय मनीष तिवारी र रानीबारी बस्ने २२ वर्षीय आमिन खड्का रहेका छन्।

त्यसैगरी लमजुङको नाल्मा गाउँपालिका ५ घर भई काठमाडौं २९ बस्ने २२ वर्षीय करण गुरुङ छन्। त्यसैगरी काभ्रेको बनेपा नगरपालिका(३ नाला घर भई भक्तपुरको राधेराधे बस्ने ३५ वर्षीय अनोज लामा र उदयपुरको चौदण्डीगढी नगरपालिका १ घर भई हाल कालो पुल बस्ने २० वर्षीया आरूषी राई पनि पक्राउ परेकी छन्।

नुवाकोटको किस्पाङ्ग गाउँपालिका वडा नम्बर २ घर भई हाल बानियाँटार बस्ने २१ वर्षीया युबिना तामाङ, काठमाडौं महानगरपालिका वडा नम्बर २९ रानीबारीमा बस्ने २३ वर्षीया आरश तुलाधर र दोलखाको भीमेश्वर ५ घर भई हाल डल्लु बिजेश्वरी बस्ने २६ वर्षीया सपना मग्राती पनि समातिएकी छन्।

प्रहरीले यो अनलाइन ठगी प्रकरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका लोकन्थली बस्ने १९ वर्षीया टीका राउत, झापाको भद्रपुर नगरपालिका १४ घर भई सिफल बस्ने २४ वर्षीया सुनिता राउत र नुवाकोटको तादी गाउँपालिका ४ तामे घर भई हाल काठमाडौंमा बस्ने १९ वर्षीय सागर श्रेष्ठलाई पक्राउ गरेको छ ।