Swornakshar Logo

नक्कली जग्गा धनी बनाएर सात करोडको जग्गा बिक्री गर्ने पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको जग्गा किर्ते गरी बिक्री गर्ने गिरोह पक्राउ परेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। कीर्तिपुरमा सात करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी बिक्री गरेको पाइएको छ ।

पक्राउ पर्नेमा दार्चुला घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोटी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन्।

प्रहरीले उनीहरुबाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र थान–४, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनी दर्ता श्रेस्ता लगायतका सामग्री बरामद गरेको छ।

पक्राउ परेको गिरोहले विभिन्न स्थानका अन्दाजी ४ विघाहा जग्गासमेत विभिन्न किर्ते कागजातहरुको आधारमा नक्कली कम्पनी तथा जग्गा धनीहरु समेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना विवरण यस्तो थियो–

शान्ता देवी लोहनी सपरिवारसहित विगत २४ वर्षदेखि जापानमा बसोबास गर्ने र बेला बखतमा मात्र नेपाल आउने २०६१ माघ १३ मा काठमाडौंको किर्तीपुर नगरपलिका, वडा नं २ स्थित रहेको कि.नं ३४४ को क्षेत्रफल ३६१.९५ वर्गमिटर भएको जग्गा खरिद गरि पुनः जापान गई १९ मे २०२२ (२०७९ जेठ ५ गते
) मा नेपाल आई मालपोत कार्यालय कलंकीमा जेठ १३ गते गई सक्कल पुर्जा देखाई बायोमेटिक प्रणाली मार्फत अभिलेखन गर्ने क्रममा सो घटनाबारे रहश्य खुलेको थियो।

मालपोत कार्यालय, कलंकीले सो जग्गा शान्ता देवी लोहनीको नामबाट मृत्यु नामसारी भई २०७७ पुस १५ गते निजको श्रीमान् तारानिधि लोहनीको नाममा गएको र त्यस पश्चात पनि उक्त जग्गा तारानिधि लोहनीको नामबाट २०७७ फागुन १० गते बिक्री भई सुनिता कर्माचार्यको नाममा गई सकेको व्यहोरा जानकारी गराएको थियो ।

उक्त जग्गा सक्कल जग्गाधनी प्रमाण पुर्जा बिना नक्कली तारानिधी लोहनीले श्रीमती शान्ता देवी लोहनीको मिति २०७७ भदौ १३ गते कालगतिले मृत्यु भएको र निजको शेषपछिको हकवाला निजको श्रीमान् म तारानिधि लोहनी हुँ भनि शान्ता देवी लोहनीको किर्ते मृत्यु दर्ताको प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका किर्ते कागजातहरु बनाई सोही किर्ते कागजात मालपोत कार्यालय, कलंकीमा पेश गरी उक्त जग्गा २०७७ पुस १५ गते शान्ता देवी लोहनीको नाममा नक्कली तारानिधि लोहनीको नाममा मृत्यु नामसारी गरी लिएका थिए।

त्यस पश्चात निज नक्कली तारानिधि लोहनीले सो जग्गा साविक काभ्रेस्थली नगरपालिका–११ बस्ने सुनिता कर्माचार्यलाई रु ३, करोड ७० लाखमा २०७७ फागुन १० गते मालपोत कार्यालय, कलंकीबाट बिक्री गरि सकेको हुदाँ वास्तविक जग्गा धनी शान्ता देवी लोहनीले लिखत ठगी सम्बन्धी कसूर मुद्दामा अनुसन्धानको ब्यूरोमा यही २०७९ असार १ गते जाहेरी दरखास्त दिएकी थिइन्।

यसरी ठगी गर्ने सो गिरोहलाई प्रहरीले काठमाडौं र चितवनको विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो।