Bagmati Samachar Logo

५१ केजी हेरोइन सहित ७ जना दक्षिण अफ्रिकाका महिला पक्राउ

काठमाडौं । काठमाडौंमा ५१ किलो हेरोइन सहित ७ जना महिला पक्राउ परेका छन् । प्रहरीले अपरेशन चलाएर उक्त हेरोइन बरामद गरेको जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ठमेल क्षेत्रबाट ५१ किलो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । बरामदमध्ये ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन रहेको विधि विज्ञान प्रयोगशालामा गरेको परीक्षणबाट पुष्टि भएको छ ।

दक्षिण अफ्रिकाबाट आएका ७ जना महिलाहरुले सो हेरोइन विभिन्न देश हुदै नेपाल ल्याएका हुन् । हेरोइन बोक्नेहरू ६ जना दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आएका हुन् । एकजना ३७ वर्षीया दक्षिण अफ्रिकन महिला मोरोएसपी सुजान कोफुचाहिँ जेठ ३१ मा कतारको दोहाबाट काठमाडौं आएकी प्रहरीले जानकारी दिएको छ ।

सातवटा सुटकेशमा विशेष हेरोइनसहित ब्यूरोले ७ जना दक्षिण अफ्रिकन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेन्बेनी न्साम्बा, साबालाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरिन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोर्सस्ट छन् ।

ब्यूरोले केहीलाई ठमेलबाट त केहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ गरेको थियो । तर, एक जनाचाहिँ रिसोर्टमा फेला परिन् । २९ वर्षीया महिला मौरिन माथिबा सिन्धुपाल्चोकस्थित सुकुटे बिच रिसोर्टमा नेपाली साथीसँग घुम्न गएकी उनलाई ब्यूरोको टोलीले पिछा गरेर काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ । जेठ २६ मा काठमाडौं आएकी मौरिनले ७ किलो हेरोइन भएको सुटकेश ल्याएकी थिइन् ।

अफ्रिकामा सामान डेलिभरी गर्नेलाई करोडौंको भारी

हेरोइन लिएर काठमाडौं आएका महिलाहरु दक्षिण अफ्रिकामा सामान डेलिभरी गरेर गुजारा चलाउँथे । एकजनाले आफु कुक भएको प्रहरीसँग भनेकी छन् । साबालाला, रोसिन्हा र मौरिनलाई दक्षिण अफ्रिकाबाट एउटै व्यक्तिले हेरोइन पठाएको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए ।

लागुऔषध कारोबारीहरुले भरियालाई दक्षिण अफ्रिकाबाट नै होटल बुक गरेर पठाएका छन् । त्यहाँ बसेर हेरोइन लिएर आउनेहरुको हरेक गतिविधिको अपडेट उनीहरुले लिने गरेका थिए । प्रहरीले बरामद गरेको हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य १ अर्ब दुई करोड छ ।

सीबीसी थान्डेकिले र मुरिएल केदुकवाजी थेन्बेनी न्साम्बा जेठ २९ मा सँगै काठमाडौं आएका हुन् । उनीहरुको साथबाट प्रहरीले १६ किलो हेरोइन बरामद गरेको छ । उनीहरुको बीचमा पूर्व चिनजान थियो । साबालाला, रोसिन्हा र मौरिनको बीचमा पनि पूर्व चिनजान थियो । उनीहरुबाहेक अरु पूर्व परिचित होइनन् । मुरिएल फेब्रुअरी र मार्चमा दुईपटक काठमाडौं आएको उनको ट्राभल हिस्ट्री रेकर्डबाट थाहा भएको छ । अरु ६ जना पहिलोपटक काठमाडौं आएका हुन् ।

भारत लाने तयारी

बरामद हेरोइन कारोबारीहरुले भारत पठाउन लागेको अनुसन्धानबाट थाहा भएको ब्यूरोका एसपी श्रेष्ठले जानकारी दिए । उनले भने– ‘नेपालमा हेरोइनको ठुलो बजार छैन, त्यसैले सो सामान भारत लैजान लागेको अनुसन्धानबाट थाहा भएको छ ।’