समयमा किताब छाप्न र दिन नसक्ने जनक शिक्षा खारेज गरौं : नवीना लामा

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद नवीना लामाले सरकारी विद्यालयका पुस्तक छाप्दै आएको जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् । सामग्री केन्द्रका कारण विद्यार्थीहरूले भोगिरहेको पाठ्यपुस्तक अभावप्रति संसदमा उक्त कुरा बताएकी हुन ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीले सधैँ पाठ्यपुस्तक अभाव झेलिरहेको बताइन् ।
‘विशेषगरी अहिले कक्षा ६ र ८ को अभाव छ । जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन्’, सांसद लामाले भनिन्, ‘यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा किन चाहियो रु सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’
यो कमजोरीको जवाफदेहिता जनक शिक्षाले लिनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘उसको व्यवस्थाको कमजोरी हो । उहाँहरू जवाफदेही बन्नुपर्दैन ? बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने । कागजको ठेक्का लिनेले किन कागज ल्याएन ।’
यस्तो काममा लापरबाही गर्नेलाई कारबाही गरेर बैकल्पिक उपाय सोचेर पाठ्यपुस्तक छपाइको काम निजीलाई दिनुपर्ने सांसद लामाको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्: