Swornakshar Logo

दरबारमार्गको प्लाटिनम डिस्कोमा युवकमाथि एक समूहद्धारा आक्रमण

काठमाडौं । काठमाडौंको दरबारमार्ग स्थित प्लाटिनम डिस्कोमा एक समुहद्धारा एक युवकमाथि आक्रमण भएको छ । ‘काभ्रेली समूह’ नामले चिनिने समुहले आक्रमण गरेको प्रहरीले आशंका गरेको छ । बिहीबार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् ।

केहि समय राजधानीमा गुण्डागर्दी बन्द भएपनि पछिल्लो समय फेरी मौलाएको सुरक्षा अधिकारीहरु बताउँछन् । आक्रमण गर्नेहरु बिरुद्ध पीडित सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् । आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६–७ जनाको समूहले आक्रमण गर्दा घाइते सिंहको टाउकोमा ७ ओटा टाँका लगाइएको छ ।

घटनाबारे प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । ‘पीडितलाई न्याय र पीडतकलाई सजाय दिलाउने कार्यमा प्रहरी कटिबद्ध छ’ एसपी मैनालीले भने–‘गुण्डालाई टाउको उठाउन दिँदैनौँ ।’ जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे अनुसन्धान गरिरहेका छन् ।
प्लाटिनम डिस्को काभ्रे घर भएका सञ्जय लामा र मिलन कार्कीले सञ्चालन गरेका हुन् ।