Swornakshar Logo

आईजीपी बढुवामा असन्तुष्टी जनाउदै अदालत पुगेका एआईजी पोखरेलको विदा अस्वीकृत

काठमाडौं । आईजीपी बढुवामा असन्तुष्ट जनाउदै सर्वोच्च अदालत पुगेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ ।

सरकारले एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको विदा मंगलबार सकिएको छ । तर पोखरेलले बुधबार सहयोगीमार्फत पुनः १० दिन विदा माग गर्दै निवेदन दिएका थिए ।

प्रहरी महानिरीक्षक सिंहले उनको विदा अस्वीकृत गरेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताएका छन् । उनका अनुसार बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउने समय भएकाले विषम परिस्थितिलाई मध्यनजर गर्दै विदा अस्वीकृत गरिएको हो ।

पोखरेलले आफूभन्दा जुनियर एआईजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको भन्दै अदालतमा सरकारविरुद्ध १९ वैशाखमा रिट निवेदन दिएका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको दावी गर्दै सिंहको बढुवा खारेजीको माग गरेका थिए । तर उनको निवेदन अदालतमा सुनुवाइकै क्रममा छ ।

अदालतबाट २० साउनअघि उनको पक्षमा आदेश नआए उनी एआईजीबाटै अवकाशमा जानेछन् ।

पोखरेल विदा बस्नुअघि मानव स्रोत तथा प्रशासन विभागका प्रमुख थिए । सरकारले मंगलबार मात्रै उनलाई सरुवा गरेर प्रदेश समन्वय विभागमा पठाएको छ भने हालै एआईजी बढुवा भएकी पूजा सिंहलाई मानवस्रोत विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।