Bagmati Samachar Logo

नवलपरासी अदालत परिसरभित्र काकीमाथि गोली प्रहार

काठमाडौं । पश्चिम नवलपरासि अदालत परिसरभित्र नै अंश विवाद मुद्दाका कारण एक युवकले आफ्नै काकीलाई गोली प्रहार गरेका छन् ।

सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले काकी रोशनी यादवमाथि अदालत परिसरभित्र गोली प्रहार गरेका हुन् । पहिलो पटक प्रहार गरेको गोली नपड्केपछि उनले दोस्रो पटक गोली चलाएका थिए । दुबै पटक चलाएका गोली रोशनीलाई भने लागेनन् । उनी भागेर बचेको बताइएको छ ।

हर्षरामका बाबुका दुई भाइ हुन् । दुई भाइको अंशमा गाउँमा १८ कट्ठा र सदरमुकाम परासीमा ९ धुर जग्गा रहेको उनका कानून व्यवसायीले बताएका छन् ।

सन्तानविहीन रहेका काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनसायका साथ हर्षरामले गोली हानेको हुनसक्ने आफन्तहरूले बताएका छन् ।

दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले घटनास्थलबाट प्रहरीले १ थान गोलीको खोका बरामद गरेको र गोली प्रहार गर्ने हर्षरामको खोजी कार्य भइरहेको बताए ।