Swornakshar Logo

विमान दुर्घटनामा मृत्यु हुनेको शव पोष्टमार्टम गर्न काठमाडौं ल्याइने

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटना भएको तारा एयरको जहाजमा ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । आइतबार तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेको हो । सोमबार बिहान विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको बताइएको छ । दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको छ । शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेका छन् ।

शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए । आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । तारा एयरका अनुसार विमानमा भारतीय ४ जना, नेपाली १३ जना र जर्मन नागरिक २ जना सवार थिए । बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो ।