Swornakshar Logo

दुर्घटनाग्रस्त अवस्थामा भेटियो ताराको जहाज

काठमाडौं । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो।

जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ।

‘थासाङ २, मुस्ताङको सानोशरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले बताए।

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज १० बजेर १५ मिनेटमा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १० बजेर ०७ मिनेटमा जहाज सम्पर्कविहीन थियो।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।

जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।