डोटीमा बस दुर्घटना हुँदा १८ महिने बालक बेपत्ता, १३ जना घाइते

काठमाडौं । डोटीमा बस दुर्घटना हुदा एक बालक बेपत्ता भएका छन् । ठोटीको शिखर नगरपालिका–१ गेरुपानीमा भएको बस दुर्घटनामा एकजना बालक बेपत्ताहुनुको साथै १३ जना घाइते भएका छन् ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन् ।
बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको भट्टले जानकारी दिए । ८ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।
बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: