Bagmati Samachar Logo

मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छःओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत हासिल गर्ने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनको तयारी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

‘गठबन्धन तोडेर होइन,गठबन्धन कायम गरेरै हामी जित्ने र्छौं,’ गठबन्धन तर्फ लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभया, ‘हारेपछि भाग्ने ठाउँ कहीं छ भने खोजे हुन्छ तर निर्वाचनबाट चाँही हामी भागन दिदैनौ ’

२०७४ निर्वाचनमा एमाले एक्लैले ४१.२८ प्रतिशत स्थानमा जित हासिल गरेको स्मरण गर्दै अध्यक्ष ओलीले यस वर्ष त्यो भन्दा धेरै स्थानमा जित हासिल गरिने बताउनुभयो ।

ओलीले बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न गठबन्धनधारी दललाई चेतावनी दिनुभएको छ ।

ओलीले आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा गएका जनप्रतिनिधिको उच्च प्रशंसा गर्नुभयो ।

कोभिड महामारी नियन्त्रण र रोकथाम, शिक्षामा सुधार, कृषकलाई प्रोत्साहन, सामुहकि भावनाको विकास, प्रविधिको प्रयोग आदि कुरामा असाधारण भूमिका निर्वाह गरेको अध्यक्ष ओलीले बताउनुभएको छ । ‘जनप्रतिनिधिका कामबाट नै स्थानीय तहलाई किन सरकार भनियो भन्ने कुराको पुष्टि गरेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यी सबै राम्रा कामका लागि सबै जनप्रतिनिधिको उच्च प्रशंसा गर्न चाहन्छु ।’

‘पहिलो कार्यकाल भएको स्थानीय तह सञ्चालनका कतिपय कानुन थिएनन्, ऐन थिएनन् तर पनि जनप्रतिनिधिहरुले सुझबुझपूर्वक काम गरेको ओलीको भनाइ छ । ‘हामीले कसरी कानुन बनायौं, कसरी काम गर्‍यौं अरुलाई पनि काम लाग्दछ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘आगामी कार्यकालमा यी सबै अनुभवहरुलाई तिव्रतापूर्वक अघि बढाउनु पर्दछ ।’