माओवादी केन्द्रः महासचिव चयनमा सकस, प्रचण्ड आन्तरिक परामर्शमा
काठमाडौँ । नेकपा (माओवादी) केन्द्रको महाधिवेशन भएको एक महिना बितिसकेको छ । तर पनि माओवादी केन्द्रले पदाधिकारी र केन्द्रीय कमिटीलाई पूर्णता दिएको छैन ।
माओवादी केन्द्रमा पदाधिकारीमा पनि सबै भन्दा बढी पेचिलो बनेको पद हो, महासचिव ।
महाधिवेशन पछि दुई पटक केन्द्रीय कमिटीको बैठक सरेको छ । पछिल्लो समयमा बढेको कोभिड–१९का कारण बैठक सरेको माओवादी केन्द्रले जनाएको थियो । अब केन्द्रीय कमिटीको बैठक २८ माघमा बस्दै छ ।
बैठक बस्नुअघि माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म पदाधिकारी सर्वसम्मत बनाउने तयारी गरेका छन् । तर पदाधिकारीका दाबेदार बढी हँुदा सर्वसम्मत हुने अवस्था नरहेको एक स्थायी कमिटी सदस्य बताउँछन् ।
माओवादीमा पदाधिकारी सर्वसम्मत गर्ने प्रयास भने जारी रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउछन् । उनले भने ‘अध्यक्ष अहिले छलफलमा हुनुहुन्छ । सकेसम्म पदाधिकारी सर्वसम्मत बनाउछौं । जसको लागि आउदो २८ गतेको केन्द्रीय कमिटी बैठक अगाडि नै छलफल भइरहेको छ ।’
माओवादी पार्टीमा मतदानबाट पार्टी नेतृत्व चयन भएको छैन । अहिले पनि सहमतिबाटै पार्टीले पदाधिकारी टुङग्याउनु पर्ने केन्द्रीय सदस्य बताउछन् ।
पुस १८ गते सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर १९ गते बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । २५ पुष र ८ माघमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक कोभिडका कारण सारेको थियो ।
अब बस्ने बैठकले माओवादीमा पदाधिकारीको चयन गर्ने छ । २९९ सदस्यीय केन्द्रीय कमिटी हुने विधानमा उल्लेख छ । तर माओवादीले महाधिवेशनबाट २४६ जनामात्र केन्द्रीय सदस्य चयन गरेको छ ।
विधान अनुसार केन्द्रीय कमिटी बैठकबाट १५ प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने व्यवस्था गरेको छ । १५ प्रतिशत मनोनयन भने २९९ केन्द्रीय सदस्य र पदाधिकारी चयन भएपछि हुने छ ।
अहिले माओवादीमा सबै भन्दा पेचिलो बनेको बिषय महासचिव पद हो । महासचिवमा दुई जनाको दाबी रहदै आएको छ । बर्षमान पुन र जनार्दन शर्मा । दुबै जनाले आफूलाई महासचिवमा दाबी गरीरहेका छन् ।
लामो समय विमारी भएर चिनमा उपचार गरेर १० माघमा पुन नेपाल फर्केका छन् । पुनले स्वदेश फर्केको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकेसम्म पदाधिकारी र महासचिव सर्वसम्मत चयन हुने नभए आफू पहिला नै सचिव भएकाले महासचिवमा दाबी रहेको बताएका छन् ।
प्रचण्डले पनि पुन चिनमा उपचाररत भएकाले आएपछि मात्र पदाधिकारी चयन हुने बताएका थिए । पदाधिकारी सर्वसम्मत हुने सम्भावना रहेको केन्द्रीय सदस्य लेखनाथ न्यौपाने बताउँछन् ।
उनले भने ‘पदाधिकारीमा सर्वसम्मत हुने होला । यदि महासचिवमा सर्वसम्मत भएन भने चुनाव हुने होला । ’
माओवादीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्षसहित १५ सदस्यीय रहने व्यवस्था छ । केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको पनि विधानमा व्यवस्था गरेको छ । जुन अबको बैठकले टुङग्याउने छ ।
नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आगामी बैठक २८ माघमा बस्ने जानकारी दिए ।
महासचिवमा कसको पल्ला भारी ?
नेकपा माओवादी केन्द्रमा महासचिवका लागि दुई जना नेताले दाबी गरीरहेका छन् । वर्षमान पुन र जनार्दन शर्मा महासचिवको दावेदार रहेका छन् । महासचिवमा दाबी गरिरहेका पुन र शर्मा माओवादी केन्द्रका संघर्षशिल संगठक मानिन्छन् । दुबै नेताले अध्यक्ष प्रचण्डसंग नजिक रहेर काम गरीसकेका छन् । तर पनि अहिले दुबै नेताले महासचिवमा दाबी गरेपछि कसलाई बनाउने भन्नेमा प्रचण्ड आन्तरिक छलफलमा रहेका छन् ।
केन्द्रीय कमिटी बैठक बस्नु भन्दा पहिला स्थायी कमिटी सदस्यहरुसंग प्रचण्डले पदाधिकारीको लागि छलफल सुरु गरेको स्थायी कमिटी सदस्य गणेश साह बताउछन् । उनले भने ‘पदाधिकारीको नाम केन्द्रीय कमिटी बैठकमा अध्यक्षले प्रस्ताव गर्नु हुन्छ । सहमत भए पास हुन्छ नभए चुनाव हुन्छ । ३०० मतदाता रहेका छन् । भोट हालेर टुङगीन्छ ।’
तर अध्यक्ष प्रचण्ड भने दुवैलाई सहमतिमा ल्याउने नभए तेस्रो विकल्पमा जान सक्ने न्यौपाने बताउछन् । उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको प्रस्ताव पेश हुन्छ । उक्त प्रस्तावमा चित्त नबुझेकाले चुनवा भन्छन् । सकेसम्म प्रचण्डले चुनाव गराउनु हुन्न । त्यो भनेको दुई महासचिवका दाबेदारको विकल्पमा तेस्रो व्यक्ति प्रस्ताव हुनसक्छ । माओवादीमा चुनाव हुने संभावना कम नै हुन्छ ।’
अध्यक्ष प्रचण्ड मतदान गर्नुभन्दा सहमतिमै पदाधिकारी र प्याकेजमा स्थायी कमिटी र पोलिटब्युरो चयन गर्न चाहन्छन् । सहमतिमै भए राम्रो चुनावले अनवाश्यक गुट निमार्ण हुने भएकाले सहमतिमा नै पदाधिकारी चयन गर्न प्रयासरत रहेका साह बताउछन् ।
अन्य पदाधिकारीमा धेरैको आकांक्षा
माओवादी केन्द्रमा नेताहरूलाई व्यवस्थापन पनि चुनौति बनेको छ । विधानमा वरिष्ठ उपाध्यक्षसहित सात जना उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्षको व्यवस्था गरेको छ । तर आकाक्षि भने धेरै रहेका छन् । न्यौपानेभने अहिले पनि पदाधिकारी कति जनाको हुने भनेर टुङगो नभएको बताउछन् ।
सहमितमा महासचिव चयन भएमा पुन र शर्मामध्ये एक जनामात्रै अटाउने छन् । महासचिवका अर्का दाबेदारले पनि उपाध्यक्षमा अथवा उपमहासचिवमा बस्नु पर्ने छ । प्रचण्डले ल्याएको प्रस्ताव नमानेर पुन र शर्माले महासचिवमा नै दाबी गरे तेस्रो व्यक्ति देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको न्यौपाने बताउछन् । उनले भने ‘सहमतिमा पदाधिकारी चयन गर्ने तयारीमा प्रचण्ड छन् । महासचिवमा यदि चुनाव नै भनेमा गुरुङ महासचिव हुने संभावना बढी रहेको छ । बर्षमान र जनार्दशनलाई अर्को ठाउँमा व्यवस्थापन हुनसक्छ ।’
महासचिव पछिको सबै भन्दा बढी सकस उपाध्यक्षमा छ । जसमा बरिष्ठ एक सहित सात जान हुने छन् । वरिष्ठमा नेता नारायणकाजी श्रेष्ठ हुने पक्का पक्कि जस्तै छ । अन्य उपाध्यक्षमा नेताहरू कृष्णबहादुर महरा, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत गणेश साह, हरिवोल गजुरेल छन् ।
उपमहासचिवमा देवेन्द्र पौडेल,हितमान शाक्य, खगराज भट्टको संभावना बलियो छ । कोषध्यक्षमा प्रचण्डले विश्वास पात्र मनोनित गर्ने देखिन्छ ।
प्रचण्डले ल्याएको प्रस्ताव सर्वसम्मत भएमा माओवादीमा युवाहरु पनि पदाधिकारीमा पुग्न सक्ने देखिन्छन् । किन कि माओवादी विधानमा अहिलेपनि कति जना पदाधिकारी हुने भन्ने किटान नगरेको न्यौपाने बताउछन् । यस्तो अवस्थामा बैठकबाट पदाधिकारी संख्या तोक्ने भएमा युवाहरुले पनि पदाधिकारीमा पुग्ने अवसर पाउने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: