सत्तागठबन्धन बैठक सकियो, स्थानीय चुनावबारे संवैधानिक परामर्श गर्ने निर्णय
काठमाण्डौ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । बैशाखमै स्थानीय निर्वाचन गर्ने विषयमा निर्णय गर्ने भनिएको बैठकले संविधान तथा कानुनी विदहरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति गरेर टुङ्गिएको छ ।
यस अघि सार्वजनिक रुपमै सत्ता गठबन्धको एक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव अघि सारेका थिए । जसमा गठबन्धनभित्रै विभिन्न मतभिन्नता देखिएको छ ।
यसैकुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँच दलीय समन्वय समितिको बैठकमा प्रचण्ड स्वयंमले नै अर्ली इलेक्सन गर्ने प्रस्तावलाई छाडिदिउँ भनेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार संविधानको व्याख्या र केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध लडेको लडाइँ दुवै कारणले अर्ली इलेक्सनमा जान नसक्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।
एक नेताका अनुसार स्थानीय निर्वाचनबारे संविधान र स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बाझिएको छ भने तीन चरणमा निर्वाचन भएकाले कार्यकाल कहिले शुरु भएको मान्ने भन्ने पनि अन्योल देखिएको छ ।
यसबारे संविधानहरु र निर्वाचन आयोगसँग परामर्श गर्ने र सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको ति नेताले जानकारी दिए ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि तीन चरणमा चुनाव भएकाले कुन मितिलाई ५ बर्ष मान्ने भन्ने विषयमा छलफल आवश्यक देखिएको बताए । उनले भने, ‘अब चाँडै संविधानविदहरुसँग परामर्श गर्छौं । निर्वाचन आयोगसँग पनि परामर्श गरेर हामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दिशामा अगाडि बढ्छौं ।’
नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीका अनुसार समन्वय समितिमा तीनै तहको निर्वाचन एकैपटक गर्दा के हुन्छ भनेर पनि छलफल चलेको छ । एकाध दिनमा यो छलफल निष्कर्षमा पुग्ने उनले सुनाए ।
प्रतिक्रिया दिनुहोस्: