Bagmati Samachar Logo

सभापतिबाट एकलौटी रुपमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयनलाई लिएर असन्तुष्टि बढेको छ । १४औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले मनोमानि तरिकाले मनोनयन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कोइरालाले सभापतिको व्यक्तिगत रुचिका आधारमा व्यक्तिको छनोट भएमा पार्टी दुर्घटनामा पर्ने उनको चेतावनी दिएका छन् ।

सभापति देउवाले गरेको केन्द्रीय सदस्यको मनोनयन र अन्य राजनीतिक विषयमा छलफल गर्न कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । बैठकमा लिखित मन्तव्य वाचन गर्दै उनले पार्टीका केन्द्रीय सदस्य मनोनयनमा एकलौटी गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’ उनले भनेका छन् ‘सभापतिले केन्द्रीय सदस्यमा नियुक्ति गरेका व्यक्तिहरू सबै सक्षम र योग्य भए पनि नियुक्तिको मापदण्ड भएन । के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं ? पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नत्र कार्यकर्ता किन कांग्रेसमा बस्नने भन्ने प्रश्न उठ्न सक्छ ।’

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफूहरू एकताको सन्देश बोकेर देशभर जाने कोइरालाले बताएका छन् ।