काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चुनावलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा ठोस विचारको विकास गर्न आगामी चुनावलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।
उनले भने, ‘प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूका तर्फबाट उठेका जिज्ञासा तथा सुझाव तथा छुटेका पक्षहरूलाई समेटेर पूर्णता दिएर ठोस विचारको विकास गर्न महाधिवेशन आयोजना गरिनेछ ।’
वर्तमान महाधिवेशनमा विचारको बहसको सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने प्रचण्डको भनाइ छ ।
अहिलेको राजनीतिक प्रतिवेदनलाई पूर्णदस्तावेजका रूपमा नबुझ्न बन्दसत्रमा प्रचण्डले आग्रह गरेका छन् ।
‘यो प्रतिवेदन धर्मशास्त्र होइन, ग्रेट डिवेट हो । क्रान्तिकारी विचार विकास गर्ने ऐतिहासिक पहल हो । हामी जादुगर होइनौं, विज्ञानमा विश्वास गर्ने कम्युनिष्ट हौं । मार्क्सलाई भेटेर, बहस गरेर मार्क्सवाद बुझेको होइन किताव पढेर बुझेको हो’, प्रचण्डले भने, ‘वैज्ञानिकसँग छलफल गरेर हामीले विज्ञान बुझेका होइनौं, किताव पढेर र व्यवहारमा लागू गरेर बुझेका हौं, विचारको विकास गर्न अझ धेरै अध्ययन, बहस, चिन्तन, मनन र व्यवहारिक प्रयोग गर्न पुगेको छैन । अहिले हामी चुनावमा जाँदैछौं । चुनावलगत्तै विशेष महाधिवेशन गरेर विचारको विकासलाई सापेक्षित पूर्णता दिन पर्छ ।’











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…