पूर्वमाओवादीहरुको एकताका लागि सीपी गजुरेलले राखे तीन शर्त
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् । तर त्यसका केहि कुराहरु आवश्यक भएको भन्दै केहि सर्तहरु अगाडि सारेका छन् ।
आइतबार शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिदै गजुरेलले आफूहरु पनि कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । त्यसका लागि माओवादी केन्द्रले आधार तयार पार्नुपर्ने भन्दै उनले तीन बुँदा अघि सारे ।
पहिलो , जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिको बैठकमा हामीले जे प्रतिवद्धता जाहेर गरेको थियौं, त्यसलाई पुनर्स्थापित गर्नुपर्छ ।
दोस्रो, हामीले जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अहिले पनि अधुरो र अपुरो छ । ‘नेपाललाई जनगणतन्त्र बनाउन अगाडि बढौं, त्यो कार्यक्रम पारित गरौं, म अनुरोध गर्न चाहन्छु,’ गजुरेलले भने ।
तेस्रो, राष्टिय स्वाधीनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुस् । ‘अहिले चलिराखेको विवाद जुन छ, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाईंहरुले जोड लगाउनु होला,’ उनले भने, ‘हामीले गुमाएका भूभागहरु नक्सामा त हासिल गर्यौं । वास्तविक रुपमा हासिल गर्न सकेको छैनौं । कालापानी लिनुलेक, लिम्पियाधुरा हासिल गर्न प्रतिवद्धता होस् ।’
प्रतिक्रिया दिनुहोस्: