Bagmati Samachar Logo

चेपाङ समुदायबाट मकवानपुरका सन्तबहादुर बने पहिलो मन्त्री

हेटौंडा । बागमति प्रदेश सरकारमा मुलुकमै पहिलो पटक चेपाङ समुदायबाट मन्त्री बनेका छन् । बागमति प्रदेश सरकारमा सन्तबहादुर चेपाङ इतिहासमा नै पहिलो पटक चेपाङ समुदायबाट राज्यमन्त्री बनेका छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका—७ धिराङका चेपाङलाई शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त राज्यमन्त्री चेपाङले शुक्रबार नै शपथग्रहण गरेका छन् । राक्सिराङको धिराङ अत्यन्त विकट बस्ती हो ।

सन्तबहादुर चेपाङ कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । शपथ लिएपश्चात् राज्यमन्त्री चेपाङले चेपाङ समुदायबाटै पहिलो मन्त्री बन्न पाएकोमा पार्टी र सरकारप्रति आभार प्रकट गरे । सिंगो चेपाङ समुदायको निम्ति आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने ,‘सरकारले घरभाडाबापत दिने पैसावाट चेपाङहरुको स्वास्थ्य बिमा गरिदिन्छु ।’

चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । चेपाङ समुदायमा १२ वर्षको उमेरदेखि नै विवाह हुने गर्छ ।

८ कक्षासम्म अध्ययन गरेका ४६ वर्षीय चेपाङले २०४८ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । सुरुदेखि नै उनी कांग्रेसमा आबद्ध थिए । त्यसो त उनका बुबा पनि कांग्रेसका कार्यकर्ता थिए ।

कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिसमेत रहेका सन्तबहादुरले नेपाल चेपाङ संघको जिल्लादेखि केन्द्रसम्मको जिम्मेवारी बहन गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीका नेता एवं संविधानसभा सदस्य गोविन्दराम चेपाङले भने ,‘लोपोन्मुख चेपाङ समुदायबाट पहिलो मन्त्री हुनु सिंगो चेपाङ समुदायको निम्ति गौरवको विषय हो, यसमा हामीले गर्व गर्नु पर्छ ।’

एमालेका चेपाङ नेता सिंहलाल चेपाङले आफ्नै गाउँको व्यक्ति मन्त्री हुनु अत्यन्त खुसीको कुरा भएको बताए । उनले भने,‘यो संघीयताको उपलब्धि हो ।’

पहिलो संविधानसभा सदस्य एमालेबाट मकवानपुरका गोविन्दराम चेपाङ र माओवादीबाट गोरखाकी राममाया चेपाङ बन्न सफल भएका थिए । दोस्रो संविधानसभामा चेपाङहरुको उपस्थिति नै रहेन । मकवानपुर, चितवन, गोरखा, धादिङ र तनहुँ जिल्लामा चेपाङ समुदायको बाक्लो बस्ती छ तर सात वटा प्रदेशमध्ये वाग्मती प्रदेशमा चेपाङ जातिबाट एकजना मात्र प्रदेशसभा सदस्य रहेका छन् । तीनै चेपाङ सन्तबहादुर राज्यमन्त्रीमा नियुक्त भएका छन् । २०६८ को जनगणनाअनुसार मुलुकभर ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या छ ।