Bagmati Samachar Logo

कांग्रेस महाधिवेशनः पदाधिकारीका उम्मेदवार छान्न देउवा पक्षको बैठक, प्रदिपलाई रोक्न दबाब

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकबाट संस्थापन समूहका पदाधिकारीका उम्मेदवार चयन गर्ने बताइएको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरु छलफलमा छन् ।

बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति देउवाले छलफल गरिरहेका छन् । देउवा सभापतिमा उम्मेदवारी दर्ता गर्ने छन् भने बाँकी पदाधिकारीका उम्मेदवार छनोट गर्न छलफल जारीरहेको बताइएको छ । उपसभापतिमा वर्तमान उपसभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।

महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाड, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गदै आएका छन् ।
कृष्णप्रसाद सिटौला समूह पनि देउवा पक्षसँग मिल्ने भएको छ । सिटौलाले महामन्त्रीमा प्रदीप पौडेलको नाम अगाडि सारेका छन् । तर देउवा पक्षका नेताहरु भने पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने पक्षमा नरहेको बालुवाटार स्रोतले बताए । पौडेललाई महामन्त्री बनाए उनी भन्दा सिनियर र देउवासंग लामो समयसंगै रहेका नेताहरु अन्यायमा पर्ने बताइएको छ । पौडेललाई महामन्त्री बनाए देउवा समूहमा पनि विभाजन आउने बताइन्छ ।