Bagmati Samachar Logo

ज्ञानेन्द्रलाई कमल थापाले भने राजसंस्था बोकेर हिँडेकोमा धर्मसंकटमा छु

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेकोमा आफू अहिले धर्मसंकटमा परेको बताएका छन् । उनले एक विज्ञप्ती निकालेर उक्त कुरा बताएका हुन् ।
उनले विज्ञप्तीमा भनेका छन् ‘म र राप्रपालाई अहिले परेको पिर प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेकोमा छ । म नैतिक र धर्मसंकटमा परेको छु ।’

राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपा भित्र बहस शुरू हुने थापाको भनाइ छ ।
उनले राप्रपाको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप रहेको आरोप लगाउदै आएका छन् । उनले महाविधेशनमा अध्यक्षमा निर्वाचन हारेदेखि नै निर्मल निवासलाई आरोप लगाउदै आएका छन् ।

उनले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् ।
थापाले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘राप्रपालाई भजन मण्डली बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।’
उनले निर्मल निवासमाथि आफूले महाधिवेशनमा अध्यक्षमा चुनाव हारेबापतको आक्रोशमा आरोप नलगाएको पनि बताएका छन् ।

थापाले निर्मल निवासबाट भएको हस्तक्षेपको यो पहिलो घटना भने नभएको बताएका छन् ।
उनले निर्मल निवासले पार्टी फुटाउनेदेखि नेतृत्वको चरित्रहतया गर्ने काम गरेको आरोप लगाएका छन् । उनले विज्ञप्तीमा भनेका छन् ‘२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ ।’

हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार भएको बताएका छन् ।

तर, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धी आफ्नो र राप्रपाको नै आधारभूत मान्यतामाथि नै गम्भीर आघात भने पुगेको थापाको भनाइ छ ।

थापाले राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था भएको पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन् , ‘नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दामाथि उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहिरहने छ ।’

थापाले महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना पनि व्यक्त गरेका छन् ।

यस्तो छ कमल थापाको प्रेस वक्तव्य

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ ।
अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ ।

केन्द्रिय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पुर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।

मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।

तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ ।
नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।

हिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने ?

अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु । यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई ूभजन मण्डलीू बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ूभजन मण्डलीू बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।

राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।