Bagmati Samachar Logo

माधव पक्षको पक्षको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बुधबार बोलाएको केन्द्रीय कमिटी बैठक बाहिरी जिल्लाबाट आउनु पर्ने केन्द्रीय सदस्य आउन ढीलाई भएका कारण स्थगित भएको हो । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको केन्द्रीय सदस्य दिलकुमारी पन्तले जानकारी दिइन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग विवाद बढेपछि खनाल–नेपाल पक्षले समानान्तर कमिटी गठन गरेका छन् । एमालेमा विवाद यति बढेको छ कि पार्टी एक रहने अथवा विभाजन हुने भनेर अनिश्चित छ । ओलीले दोस्रो पटक संसद विघटन गरेपछि खनाल–नेपाल पक्ष प्रतिपक्षसंग गठबन्धन गरेर आन्दोलनमा सहभागी भएको थियो । सर्वोच्चले संसद पुनःस्थापना गरेपपछि खनाल–नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिएर ओली सरकारको बह्रीगमन गराएका थिए ।
पार्टी एकता गर्ने भन्दै दुबै पक्षका दोस्रो तहका नेताहरु लागेपनि कुन कुन विषयमा विवाद कसरी मिलाउने भन्ने अहिलेसम्म अन्यौल नै रहेको छ ।
खनाल–नेपाल पक्षले देउवाको नेतृत्वमा सरकार बनेपछि सरकारमा जाने कि नजाने भनेर निर्णय गर्न सकेको छैन । आज बस्ने बैठकमा यो विषयमा पनि निर्णय हुने बताइएको थियो ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रयास र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । दुवै पक्षलाई सहमतिमा ल्याउन प्रयासरत नेताहरुले भने नेपाललाई बैठक रोक्न आग्रह गर्दै आएका छन् ।