Bagmati Samachar Logo

नियुक्ति सच्चिएपछिमात्र लिए देउवाले प्रधानमन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्तिको भाषा सच्चिएपछिमात्र पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए ।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गरिदिएकी थिइन्। तर, सर्वोच्च अदालतले सोमबार देउवालाई राष्ट्रपति नियुक्त गर्न परमादेश जारी गरेको थियो। देउवाको प्रधानमन्त्रीको रुपमा यो पाँचौं कार्यकाल हो। यसअघि उनी २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन्।