आन्तरिक गृहकार्य गर्ने भन्दै कार्यदल बैठक स्थगित, साँझ पुनः बस्ने
काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन बनेको कार्यदलको बैठक स्थगित भएको छ । बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो ।
आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको छ । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफल गर्ने सुवास नेम्वाङल बताए ।
यसअघि आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको थियो ।
कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए । सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको थियो ।
बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिएको छ । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताएका छन् । सहमति जुटाउने प्रयासको स्प्रीट नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: