Bagmati Samachar Logo

एमाले नेता भुसालले भनेः म स्वतन्त्र सांसदको हैसियतमा बस्छु

काठमाडौं । एमाले स्थायी कमिटी सदस्य तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले स्वतन्त्र सांसदको हैसियतमा बस्ने भन्दै संसद सचिवालयमा पत्र दर्ता गराएका छन् । नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेका बेला भुसालले आइतबार संसद सचिवालयमा पत्र दर्ता गराउदै आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभाको सदस्यमा बस्न चाहेको बताएका छन् । उनले भनेका छन् ‘आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको सदस्य भएको र सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको हो ।’

भुसालले सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको उल्लेख गरेका छन् । उनले पत्रमा भनेका छन्, ‘म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

भुसालले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन पनि अनुरोध गरेका छन् । उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई जानकारी गराइदिन भनेका छन् ।

एमालेभित्रको माधव कुमार नेपाल समूहका महत्वपूर्ण नेता मानिएका उनले आफूलाई राष्ट्रिय सभाको सदस्यमा स्वतन्त्र हैसियतमा प्रस्तुत गरेका छन् । उनको यो निर्णयले एमालेभित्र फरक फरक आँकलन हुन थालेको छ । कतै पार्टी विभाजनको पहिलो अभ्यास त होइन भनेर ।

कतिपयले उनले माधव नेपालको साथ छाडेको रुपमा पनि हेरेका छन् ।