Bagmati Samachar Logo

एमाले विवाद: माधव पक्षको केन्द्रीय कमिटी बैठकमा बालुवाटारले भुल्याउन मात्रै खोजेको निस्कर्ष

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बिहीबार भर्चुअल माध्यमबाट भएको छ । १२ बजेदेखि सुरु भएको बैठकमा सुरुमै नेता माधव कुमार नेपालले आफ्नो धारणा राखेका थिए । पार्टी भित्रको विवाद र विकसित परिस्थितका बारेमा आफ्नो धारणा राख्दै नेपालले अरु नेताहरुको धारणा सुन्न भेला आयोजना गरिएको बताएका थिए ।

एक केन्द्रीय सदस्यले नेपालको भनाई उधृत गदै भने ‘तपाईँहरुका कुरा सुनौं, पार्टी भित्रको विवाद र विकसित राजनीति परिस्थितिको बारेमा छलफल गर्न बैठक राखिएको हो । सबैको धराणा सुनेर अघि बढ्न सहज हुने ठानेर भेला गर्नुपरेको हो । केहि साथिहरुले एकता बचाउन भन्दै ओली पक्षसंग अनौपचारिक ढंगले कुरा पनि गरिराख्नु भएको छ । तर खासै उपलव्धी भैसकेको छैन ।’

नेता नेपालपछि अर्का बरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । खनालले ओलीका गतिविधि सच्चिने तर्फ भन्दा पनि अझै मनमर्जि गदै गएको बताएका थिए । ओलीको कार्यशैलीका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको भन्दै यसलाई बचाउनु सवैको कर्तव्य भएको बताएका थिए ।

बैठकमा खनाल नेपाल पक्षबाट वार्ता गरीरहेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ओली पक्षका नेताहरुसँग भएको अनौपचारिक छलफलबारे ब्रिफिङ गरेका थिए । पाण्डे र भुसाल दुवैले ओली पक्षले वार्ताका नाममा भुल्याउन मात्रै खोजेको आफुहरुलाई भान भएको बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टी विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलका नेतामध्ये भीम रावललाई ओलीले कारवाही गरेपछि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली पक्षसँग योबीचमा दुई पटक छलफल गरेका थिए । तर संस्थापन पक्षसँगको छलफलले ठोस प्रगति र आकार ग्रहण गर्न नसकेको पाण्डे र भुसालले छलफलमा बताएका ती केन्द्रीय सदस्यले बताए ।

पाण्डेको भनाइ उदृत गदै अर्का केन्द्रीय सदस्यले भने ‘ओली पक्षबाट वार्तामा बसौं भन्ने कुरा आयो । पार्टी मिल्छ भने संवाद गर्दैमा केही बिग्रिदैन भनेर हामीले पनि प्रयास गर्यौ र बस्यौँ तर प्रयोग गर्न खोजेको जस्तो अनुभुति भयो ।’

केन्द्रीय सदस्यका अन्य नेताहरुले भने ओलीको भुलभुलैयामा लाग्न नहुने । ओलीले आफूलाई संटक पर्दा सबैलाई प्रयोगm गर्ने तर विधि विधान र कम्युनिस्ट आचरण कहिलेपनि पालना नगर्ने भएकाले उनलाई विश्वास नगर्न सुझाव दिएका थिए । भर्चुअल बैठकमा करिव ७५ जना सहभागी भएको बताइएको छ ।