ताजा अपडेट
राजनीति

ओली पक्ष एमाले स्थायी कमिटी बैठक बस्दै, १२ जना नेतामाथि हुने कारवाही रोकिने संभावना

ओली पक्ष एमाले स्थायी कमिटी बैठक बस्दै, १२ जना नेतामाथि हुने कारवाही रोकिने संभावना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बालुवाटारमा विहान ११ बजे बस्ने छ ।
आज बस्ने बैठकमा अध्यादेशबाट सरकारले प्रस्तुत गरेको बजेट,राष्ट्रिय सभाको निर्वाचनमा भएको पराजय, पार्टी भित्रको विवाद लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत साता १२ जना नेताहरुलाई स्पष्टीकरण सोेधेको छ । ती १२ नेतालाई कारवाही गर्ने या नगर्ने भन्ने विषयमा समेत आजको बैठकमा छलफल एक स्थायी कमिटी सदस्यले बताए । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।

यसअघि ओली पक्षल वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष भीम रावललगायत ११ जना नेताहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकिएको छ।

स्पष्टीकरण र कारवाहीको प्रक्रियासंगै दोस्रो तहका नेताहरुबीच वार्ता पनि जारी रहेको छ । ओली पक्षले केन्द्र देखि प्रदेशसम्म खनाल नेपाल पक्षका नेता तथा सांसदहरुलाई स्पष्टीकरण सोध्ने र पार्टी सदस्य नै नरहेने गरी कारवाही गरेपनि दुबै तर्फका दोस्रो तहका नेताहरुभने वार्तामा जुटेका छन् । एमालेका दुवै पक्षका दोस्रो तहका नेताबीच सोमवार राति अबेरसम्म याक एण्ड यति होटलमा छलफल भएको बताइएको छ ।

याक एण्ड यति होटलमा भएको छलफलमा ओली पक्षका उपमहासचिव विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवालीले र खनाल नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी थिए । छलफलमा पार्टीलाई २०७५ जेठ २ मा फर्काएर सहमति खोज्ने प्रयास जारी रहेको सुभास नेम्वाङले जानकारी दिए ।

दोस्रो तहका नेताहरु यसअघि पनि याक एण्ड यति होटलमा बसेर पार्टीको विवाद समाधान गर्न छलफल गरेका थिए । तर छलफल भएको दोस्रो दिन नै माधव नेपाल पक्षले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि वार्ता भाँडिएको थियो । सोमबार रातीको वार्ताले तत्काललाई १२ जना नेताहरु माथिको कारवाही स्थगन हुन सक्ने संभावना रहेको ओली पक्ष एक नेताले बताए ।

आजको बैठकमा जसपाको सरकारमा सहभागी हुने बारेमा छलफल हुने देखिन्छ । लुम्बिनीको राष्ट्रियसभा निर्वाचनको समीक्षा हुने बताइएको छ । माधव नेपाल पक्षले विपक्षी उम्मेदवारलाई मतदान गरेका कारण पराजय भएको निष्कर्ष ओली पक्षको छ ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…